सोलुखुम्बुको लुबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।
आज बिहान उद्धारका लागि काठमाडौंबाट गएको हेलिकप्टर लुबुचेमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले हेलिकप्टर ल्याण्डिङका क्रममा हिउँमा फिस्लिएर दुर्घटना भएको जानकारी दिइन्। उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् र पाइलट विवेक खड्काको सकुशल उद्धार गरिएको छ।
लुक्लाबाट उडेको हेलिकप्टर लुबुचे हेलिप्याडमा अवतरण गर्न खोज्दा फिस्लिएको प्रारम्भिक अनुमान गरिएको छ।
हेलिकप्टरमा आगो नलागेको र ठूलो क्षति नभएको जानकारी प्राप्त भएको छ। घटनाको विस्तृत विवरणका लागि अनुसन्धान जारी छ।
