समर्थकहरूकै असन्तुष्टिले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार संकटमा परेको छ।
मेयर बालेन शाह जेन जी आन्दोलनका दोषीमाथि कारबाही नहुँदा असन्तुष्ट भएको बताइन्छ। उनले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि असहमति जनाउँदै परिवर्तनको दबाब दिएको चर्चा चलेको छ, तर अर्यालले त्यसलाई “पत्रु खबर” भन्दै खण्डन गरेका छन्।
राजनीतिक विश्लेषक डम्बर खतिवडाका अनुसार बालेनको असन्तुष्टिले सरकारलाई गम्भीर दबाबमा पारेको छ।
“यो सरकार बालेनको समर्थनमा आएको हो, उनी नै असन्तुष्ट भए जनतामा निराशा बढ्छ,” खतिवडा भन्छन्।
पत्रकार गोविन्द अधिकारीका अनुसार आन्दोलनकारी र सरकार दुवै गैरराजनीतिक भएकाले स्थिरता कठिन भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले दमनका घटनाका जिम्मेवारमाथि छानबिन गर्ने भनेकी छिन्, तर ठूला नेतामाथि कारबाही गर्नुपर्ने विषयमा कानुनी र राजनीतिक जोखिमका कारण सरकार अलमलमा परेको छ।
खतिवडाले चेतावनी दिएका छन्,
“राष्ट्रपति र प्रधानमन्त्रीले अहिलेको संकटलाई बुझेनन् भने देश फेरि ठूलो अनिश्चिततामा जान सक्छ।”
