• Sunday 18th of October 2026

नेकपा एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी पद र सदस्यता दुवै परित्याग गर्दै स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने घोषणा गरेका छन्।

भट्टले शुक्रबार सामाजिक सन्जाल फेसबुक मार्फत पार्टीभित्रको गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादजस्ता प्रवृत्तिप्रति गम्भीर असन्तोष जनाउँदै अब एमालेमा रहन नसक्ने बताएका हुन्।

‘इमानदार कार्यकर्ता र नेताको मूल्याङ्कन हुने परम्परा हराउँदै गएको छ। सत्ता र स्वार्थका लागि पार्टीहरू चरम अवसरवादमा डुबेका छन्,’ उनले भने।

भट्टका अनुसार उनले २०७५ सालमा एमाले र माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। पार्टी विभाजनपछि पनि एमालेमै रहँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका उम्मेदवार बनेका थिए।

‘बाल्यकालदेखि संघर्षपूर्ण जीवन बिताएँ। विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रामा कैयौं पटक गिरफ्तारी, यातना र व्यक्तिगत क्षति सहनुपर्‍यो। तर न्याय र परिवर्तनको विश्वास कहिल्यै हराएन,’ उनले भने।

भट्टले आफू अब स्वतन्त्र नागरिकको हैसियतमा समाज र देशका लागि आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्ने उनले बताएका छन्। ‘देश दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको दलदलमा फसेको छ। अब आत्मालोचना गर्दै नयाँ बाटो रोजेको छु,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖