• Sunday 18th of October 2026

पार्टी छाडेकाहरूलाई एमालेमा फर्कन ओलीको अपिल


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई घर फर्कन अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सबैले काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरेका छन्।

‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं,’ ओलीको आह्वान छ, ‘देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।’

एमाले केवल एउटा राजनीतिक संगठन नभएर जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको ओलीले बताएका छन्। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेको उनको भनाइ छ।

‘कसैले जेल यातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए,’ उनी लेख्छन्, ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’

उनले निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमाएमालेले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको बताएका छन्। अनेकौं प्रहार खेपेर पनि एमाले राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच बनेको पनि उनको दाबी छ।

अध्यक्ष ओलीले एमाले केवल एउटा राजनीतिक संगठनमात्रै नभएर यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार रहेको पनि बताएका छन् । एमालेको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेको, त्यसक्रममा कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरेको र कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरेर ठूलो योगदान गरेको उनले स्मरण गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः
दिदीबहिनी तथा दाजुभाइहरु, कमरेडहरु । निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्‍यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन्।

एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।

आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।

त्यसैले, विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।
हामी एउटै परिवार हौं —हाम्रो लक्ष्य स्पष्ट छ । समृद्ध नेपाल, सुखी नेपाली। म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖