नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने निर्णयको विरोध गर्दै उनले आफू र आफ्ना समर्थकहरू माओवादीमा नजाने स्पष्ट पारेका हुन्।
खनालले अन्नपूर्णपोस्टसँगको कुराकानीमा भने, “अध्यक्ष माधव नेपालले गैरजिम्मेवारीपूर्वक निर्णय गर्नुभयो, अब हामी नयाँ पार्टी बनाउँछौं। हाम्रो पार्टी क्रान्तिकारी समाजवादी लाइनमा अघि बढ्नेछ।” उनका अनुसार नयाँ पार्टीले नेपालमा समाजवादी क्रान्ति गर्ने लक्ष्य लिनेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई पार्टीमा फर्किन आह्वान गरे पनि खनालले फर्किने सम्भावना तत्काल नरहेको बताएका छन्। “ओलीको आह्वान नराम्रो होइन, तर हामी फरक परिस्थितिमा छौं। हामी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा नयाँ पार्टी बनाउँछौं,” उनले भने।
खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि कडा आलोचना गर्दै भने, “माधवजी पार्टी सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्नुभयो। दक्षिणपन्थी लाइन लिँदै पार्टीलाई कमजोर बनाइयो। अहिले त पार्टी खिइँदै लाजलाग्दो अवस्थामा पुगेको छ।”
उनका अनुसार, नयाँ पार्टीको तयारी अन्तिम चरणमा पुगेको छ र छिट्टै नयाँ दलको औपचारिक घोषणा गरिनेछ।
खनाल समूहको विद्रोहसँगै एकीकृत समाजवादीभित्र गम्भीर विभाजन र राजनीतिक पुनर्संरचनाको संकेत देखिएको छ। माओवादीसँग एकीकरण गर्ने निर्णयले पार्टीभित्र असन्तोष तीव्र बनेको र खनाल पक्षले अब नयाँ राजनीतिक शक्ति निर्माणको बाटो लिएको बताइएको छ।
