• Sunday 18th of October 2026

रविलाई बाहिर निकालेर उनकै नेतृत्वमा चुनावमा जाऔं: बाबुराम


  • धनकुटा खबर
  • .

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले कांग्रेस र कम्युनिष्टजस्ता पुराना दलहरूलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताए।

शुक्रबार रास्वपाद्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै डा. भट्टराईले लामिछानेको नेतृत्व क्षमताको आवश्यकता औंल्याउँदै उनलाई बाहिर राखेरै मुद्दाको सामना गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे।

‘रविजीलाई पनि निकालौँ कुनै तरिकाले, उहाँको एउटा नेतृत्वको पनि आवश्यकता छ,’ डा. भट्टराईले भने, ‘उहाँको जुन मुद्दा छ, त्यसलाई बाहिर नै रहेर फेस गर्ने वातावरण बन्न सक्दाखेरि उहाँको क्षमता, प्रतिभाको प्रयोग पनि हुन सक्थ्यो।’

आफूले लामिछानेमाथि भेदभाव भएको महसुस गरेर नै उनको रिहाइको पक्षमा हस्ताक्षर गरेको समेत स्मरण गरे।

डा. भट्टराईले रास्वपा, रेशम चौधरी, सिके राउत लगायतका सबै नयाँ शक्तिहरूलाई अहंकार त्यागेर एउटै पार्टी बनाउन आग्रह गरे।

‘कांग्रेस र कम्युनिष्ट नामका ‘ब्राण्ड’ पार्टीहरूले जनतालाई ठगेर जुन दुर्दशामा पुर्‍याएका छन्, त्यसबाट नेपाली जनतालाई मुक्त गरेर साँच्चैको विकल्प दिन सकिन्छ,’ उनले भने, ‘त्यसको निम्ति तपाईंहरू लाग्नुहोस्।’

उनले पुराना शक्तिहरूको जरो उखेल्न सजिलो नभएको बताउँदै भने, ‘कांग्रेस र कम्युनिष्ट भन्ने जुन दुईटा धार छन्, त्यो ७ सालदेखि बनेको, तिनको जरो तलसम्म झाँगिएको छ। अहिले हल्लन त हल्लिएको छ, तर त्यो पूरै उखेलिएको छैन।’

नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा नआए पुराना शक्तिलाई परास्त गर्न गाह्रो हुने उनको तर्क थियो।

उनले रास्वपालाई आग्रह गर्दै भने, ‘तपाईंहरू अहिले भएका स्थापित दलहरूमध्येमा अलि ठूलो दल भएको हुनाले एक्लै मात्रै सक्छु भन्ने लाग्नु स्वाभाविक हो, तर नयाँ र वैकल्पिक शक्तिहरू सधैँ एक ठाउँमा नआउने हो भने उनीहरूलाई परास्त गर्न गाह्रो हुन सक्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖