• Sunday 18th of October 2026

प्रचण्डले भने – जनार्दन शर्माको शैली कसैलाई मन परेको छैन


  • धनकुटा खबर
  • .

काठमाडौं : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए।

त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। ‘पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। बैठकबाट उहाँ उठेर हिंड्नुभयो। त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मन पर्ने शैली होइन,’ उनले भने।

संयोजक प्रचण्डले महाधिवेशन पनि निर्धारित मितिमै हुने दाबी गरे। ‘महाधिवेशन सार्ने आरोप गलत छ। अराजक छ,’ उनले भने। नेता शर्माले बैठकमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकता रोक्नुपर्ने माग गरेका थिए।

महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने बताएका थिए। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने र कुण्ठित गर्ने गरि भएको एकता प्रयासले माओवादी आन्दोलन बिसर्जनतर्फ जाने उनको भनाइ छ।

महाधिवेशनबाट विधिसम्मत ढंगबाट नेतृत्व हस्तान्तरणमा जानुपर्नेमा त्यसलाई अस्वीकार गर्दै एकताका नाममा मनोनीत गरेर आफ्ना वरिपरि सुरक्षा घेरा बनाउने प्रयत्न भइरहेको उनले आरोप लगाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖