• Sunday 18th of October 2026

सुदन किराँतीले मागे ५ बुँदे लिखित प्रतिबद्धता, नत्र यात्रामा सँगै हिँड्न नसक्ने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले पार्टी रूपान्तरणका लागि पाँच बुँदे लिखित प्रतिबद्धताको माग गरेका छन्। नेता किराँतीले आफ्नो फेसबुक पोस्टमार्फत यी विषयमा सहमति भए मात्र आफू यात्रामा सँगै हिँड्न सक्ने स्पष्ट पारेका छन्।

उनले माओवादी पार्टी रूपान्तरणको विकल्पका रूपमा यी पाँच बुँदा प्रस्तुत गरेका छन्:

संरचना र अधिकार बाँडफाँड: विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँड गर्नुपर्ने उनको माग छ। यसमा उनले आवश्यक पर्दा संरक्षकलाई पार्टी विघटन गरी अधिवेशनको घोषणासम्म गर्ने अधिकार दिनुपर्ने उल्लेख गरेका छन्।

अपूर्ण र अपवित्र एकता रोक्नुपर्ने: नेता किराँतीले पार्टी, आन्दोलन र ‘जेनजी’ विद्रोहको भावना विपरीत ‘भ्रष्टाचार सम्बन्धी मुद्दाको छानबिन भइरहेको बेला’ व्यक्तिका लागि गर्न लागिएको अपूर्ण र अपवित्र पार्टी एकता तत्काल रोक्न माग गरेका छन्।

पदाधिकारीको परिवर्तन: उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदल्नुपर्ने प्रस्ताव गरेका छन्।

केन्द्रीय राजनीतिक समिति गठन: स्थायी समितिदेखि अग्रज नेताहरूको एक केन्द्रीय राजनीतिक समिति बनाउनुपर्ने उनको भनाइ छ। यस समितिलाई राष्ट्रिय महत्त्वको निर्णय र सांसद छनोट गर्ने लगायतको अधिकार विधानमा व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी: नेता किराँतीले तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्। यो पुस्ताले पुलको भूमिका खेल्दै पुरानो पुस्ताको अनुभव र नयाँ (जेनजी) पुस्ताको ऊर्जालाई जोडेर पार्टीलाई गति दिन वा अप्ठ्यारोमा परेको पार्टीलाई उद्धार गर्न सक्ने उनको विश्वास छ।
किराँतीले यी पाँचवटै विषय माओवादी पार्टी रूपान्तरणको विकल्प भएको ठहर गरेका छन्। उनले लिखित प्रतिबद्धता बिना पार्टीको आगामी यात्रामा आफू सहभागी नहुने सङ्केत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖