• Sunday 18th of October 2026

प्रचण्ड प्रति असहमति जनाउँदै पार्टी पुनर्गठन गर्ने जनार्दन शर्माको घोषणा


  • धनकुटा खबर
  • .

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति असहमति जनाउँदै पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्। शनिबार पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकमा उनले लिखित धारणा प्रस्तुत गर्दै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग हुने भनिएको एकता प्रक्रियालाई “माओवादी आन्दोलनको आत्मसमर्पण” भन्दै तीव्र आपत्ति जनाएका हुन्।

शर्माले भने, “माधव नेपालसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु।” उनका अनुसार प्रचण्डले वैचारिक स्पष्टता र जनयुद्धको मूल्याङ्कन नगरी एकताको नाममा पार्टीलाई विसर्जनतर्फ डोर्याएका छन्। उनले प्रचण्डमाथि “महाधिवेशन टार्न र सत्ता स्वार्थका लागि एकताको नाटक गरेको” आरोप लगाएका छन्।

शर्माले माओवादी पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना बिर्सेको, नेतृत्व हस्तान्तरण र पारदर्शिता बेवास्ता गरेको भन्दै “यो माओवादी होइन, अवसरवादी मार्ग हो” बताएका छन्। उनले जेन–जि आन्दोलनको भावना अनुसार नयाँ विचार र नेतृत्वसहित माओवादीको पुनर्गठन सुरु गर्ने संकेत दिएका छन्।

बैठकमा अध्यक्ष प्रचण्डले भने शर्माको शैलीलाई “अराजक” भन्दै आलोचना गरेका छन्। तर अन्य नेताहरूले भने पार्टी फुट्ने अवस्था नआएको र जनार्दनलाई फेरि छलफलमा ल्याउने प्रयास जारी राख्ने बताएका छन्।

प्रभाकरले भने स्पष्ट सन्देश दिएका छन् — “माओवादी विचार र पहिचान बचाउन पुनर्गठन अपरिहार्य छ। यो आत्मसमर्पण होइन, नयाँ सुरुवात हो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖