• Sunday 18th of October 2026

‘तारा’सँग फेरि भेट हुँदा बामदेव गौतम भावुक


  • धनकुटा खबर
  • .

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका आठ घटक दलबीच हुने एकता प्रक्रियामा नयाँ पार्टीको चुनाव चिन्ह ‘तारा’ तोकिएपछि बामदेव गौतम अत्यन्त खुसी भएका छन्।

शनिबार बसेको शीर्ष नेताहरूको बैठकमा गौतमले उक्त चिन्ह आफूले नै पहिले चुनेको स्मरण गर्दै भावुक अभिव्यक्ति दिएका थिए। उनले भने, “यो चिह्न मैले नै चुनेको हुँ, घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो, म धेरै खुसी छु।”

२०५४ सालमा गौतमकै नेतृत्वमा एमालेबाट अलग भएर बनेको माले (मार्क्सवादी–लेनिनवादी) पार्टीको चुनाव चिन्ह पनि ‘तारा’ नै थियो। सो पार्टीका उम्मेदवारहरूले २०५६ सालको निर्वाचनमा यही चिन्ह प्रयोग गरेका थिए। पछि गौतमले मालेलाई पुनः एमालेमै गाभे पनि सीपी मैनाली लगायत केही नेताहरूले भने अलग रहेर ‘तारा’ चिन्ह जोगाएका थिए। अहिले त्यही चिन्ह नयाँ एकीकृत पार्टीले पुनः अपनाउने भएको हो।

संयोगवश, गौतम केही समयअघि मात्रै नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन्। उनले पुरानो चिन्हसँग पुनः भेट हुनु आफूका लागि प्रतीकात्मक पुनर्मिलन भएको बताए। नयाँ पार्टीको नाम भने अझै टुंगो लागेको छैन।

नेताहरूका अनुसार ‘नेकपा (समाजवादी)’, ‘नेपाली कम्युनिष्ट पार्टी’ वा ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ जस्ता विकल्पमा छलफल जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖