• Sunday 18th of October 2026

कुलमानले आफ्नै नेतृत्वमा नयां राजनैतिक पार्टी दर्ता गर्ने


  • धनकुटा खबर
  • .

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा नयाँ राजनीतिक पार्टी दर्ता गर्ने अन्तिम तयारीमा पुगेका छन्।

लामो छलफलपछि उनले अरूको नाममा होइन, आफ्नै नाममा पार्टी दर्ता गर्नु उचित हुने निष्कर्ष निकालेका छन्।

उनका नजिकका स्रोतका अनुसार पार्टी दर्ता यही कात्तिक १९ गते (बुधबार) गर्ने योजना छ, जसको नाम ‘उज्यालो नेपाल’ वा ‘नेपाल विकास दल’ मध्ये कुनै एक रहने सम्भावना छ।

स्रोतका अनुसार प्रारम्भिक चरणमा कुलमानलाई नै अध्यक्ष बनाउने र अन्य सबै सदस्यहरूलाई केन्द्रीय सदस्यका रूपमा राख्ने तयारी गरिएको छ। नयाँ पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ रहनेबारे पनि छलफल चलिरहेको बताइएको छ। कुलमानसँग मिलेर पार्टी गठनको तयारीमा रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, इन्जिनियर सागर ढकाल, ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ, जेनजी अभियन्ता प्रवेश दाहाल र सबल गौतमलगायत रहेका छन्।

काठमाडौंका मेयर बालेन शाह र कुलमानबीच लामो समयदेखि सहकार्यको प्रयास भए पनि त्यो टुंगोमा पुग्न सकेको छैन। बालेनले नयाँ पार्टीमा प्रत्यक्ष रूपमा सहभागी हुने वा समर्थन गर्ने भन्नेबारे अझै यकिन छैन।

कुलमान नजिकका स्रोतका अनुसार बालेनले समर्थन नगरे पनि कुलमानले स्वतन्त्र रूपमा राजनीतिक यात्रा सुरु गर्ने निर्णय गरिसकेका छन्। उनका सहयोगीले भने, “जनताले चिनेको अनुहार नभए पार्टी अघि बढाउन सजिलो हुँदैन, त्यसैले कुलमान स्वयं नेतृत्वमा उत्रनुहुनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖