• Sunday 18th of October 2026

जेन–जी आन्दोलनका बेला सुरक्षा निकायहरूले पर्याप्त सहयोग नगरेको ओलीको दाबी


  • धनकुटा खबर
  • .

तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका बेला सुरक्षा निकायहरूले पर्याप्त सहयोग नगरेको दाबी गरेका छन्।

उनले भदौ २२ र २३ गते आन्दोलनका विषयमा गरिएको बैठक र ब्रिफिङका समयमा पनि प्रहरी तथा सेनाबाट आवश्यक सूचना नपाएको उल्लेख गरे।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइड मा कुरा गर्दै ओलीले नेपाली सेनाले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षा जिम्मेवारी आफ्नै मातहत हुँदाहुँदै पनि त्यसबेला आवश्यक तत्परता नदेखाएको बताए। उनले भने, “नेपाली सेनाले मानवीय र भौतिक क्षति रोक्न सकेन, जसका कारण परिस्थिति बिग्रियो।”

ओलीले आन्दोलनमा भएको दमनबारे निष्पक्ष छानबिन भए त्यसमा सघाउन तयार रहेको बताउँदै आफू दोषी ठहरिए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे। तर उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोग भने स्वीकार नगर्ने अडान दोहोर्याए।

वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूहरूसँग संवाद गर्न नचाहेको आरोप लगाए। उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाउन कुनै गम्भीरता देखाएको छैन।

प्रमुख दलका नेतालाई स्थानहद तोकेर चुनाव गराउने कुरा काल्पनिक हो।” प्रतिनिधिसभा पुनर्स्थापना नै एकमात्र समाधान भएको भन्दै उनले त्यसका लागि न्यायिक प्रक्रिया र सडक आन्दोलन दुबै विकल्प खुला रहेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖