काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभएर प्रशासनले नै बाहिर निकालेको बताएका छन् । त्यसरी निकालिनु नियमसंगत नभएको भन्ने कुरा बुझेपछि आफैँ फर्किएको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगले सोमबार नख्खु कारागारमै गएर भेट्दा लामिछानेले उक्त कुरा बताएका हुन् । त्यहाँबाट लामिछाने विजय यात्राको शैलीमा बाहिरिएपछि देशभरका कारागारबाट कैदी बन्दी भाग्ने लहर नै शुरु भएको थियो । आयोग पदाधिकारीहरूको प्रश्न थियो, ‘तपाईँ किन र कसरी यहाँबाट निस्कनुभएको हो ?’ जवाफमा लामिछानेले भने, ‘आफ्नो इच्छाले जेलबाट बाहिरिएको थिइनँ ।’
आफू जेलभित्र हुँदा समग्र सुरक्षास्थिति चुनौतीपूर्ण हुने भयो भन्दै आफूलाई तत्कालीन गृह र प्रहरी नेतृत्वले बाहिर पठाएको जवाफ दिएका छन् ।
लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पछि म बाहिर गएकोबारे अनेक किसिमका टीकाटिप्पणी भए, त्यो काम अनुचित हो भनेपछि म आफैँ फर्किएँ, मलाई पुलिसले समातेर ल्याएको होइन ।’
यसबारे जाँचबुझ आयोगका प्रवक्ता तथा प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मासँग नेपाल प्रेसले जिज्ञासा राख्दा सामान्य भेटघाट भएको बताए । ‘घटनाहरूको सूचना संकलनका सिलसिलामा कतिपय व्यक्तिसँग औपचारिक र कतिपय व्यक्तिसँग अनौपचारिक भेट गर्नुपर्ने हुनसक्छ’, उनले भने, ‘लामिछानेजीसँग अनौपचारिक कुरा भएको हो, सामान्य कुराकानी मात्रै भएको हो ।’
स्रोतका अनुसार लामिछानेलाई जेलबाट बाहिर पठाउने काममा क-कसको, के-कस्तो भूमिका छ भन्नेबारेमा स्पष्ट हुनका लागि आयोगको टोलीले भेट गरेको हो । यसअघि विभिन्न व्यक्तिको कल डिटेल्स रेकर्डको लिंक चार्टका आधारमा रवि जेलबाट बाहिर निस्कने घटनामा जोडिएका अन्य व्यक्ति पनि पहिचान भएका थिए । त्यसबारे आयोगले उनलाई सोधपुछ गरेको थियो ।
रविपत्नी निकिता, उनको पार्टीका उपसभापति डीपी अर्यालको सक्रियता रहेको कारण सोधपुछमा उनीहरू पनि तानिने भएका छन् । तीसँगै प्रहरी नेतृत्व, प्रशासन क्षेत्रका जिम्मेवार व्यक्तिका हकमा स्थानहदको आदेश जारी भइसकेको छ ।
