• Sunday 18th of October 2026

नख्खु कारागारका जेलरको बयान : रवि निस्केको डेढ घण्टापछि पत्रमा हस्ताक्षर गराए


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिन थालेको छ । आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको हो । सोमबार उनीसँग बयान लिइएको आयोगका एकजना सदस्यले बताए ।

जेलरसँग आयोगका पदाधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे सोधेका छन् । जेलरले जोशीले हस्ताक्षर गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो ।

जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् । आयोगका एकजना सदस्यले जोशीको बयान उद्धृत गर्दै भने, ‘रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ ।’

उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे पनि निरीक्षण गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖