• Sunday 18th of October 2026

‘नौ वाम एक ठाम’ ले माओवादीलाई सिध्यायो, त्यसको मलामी हुन सकिएनः जनार्दन शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र) का पूर्व उपमहासचिव जनार्दन शर्माले ९ दलीय वाम एकताको नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई सिध्याएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले पार्टी सुदृढ गरेर जाऊँ, जनतामाझ जाउँ भनेर हारगुहार गर्दागर्दै पनि प्रचण्डले आफूहरुको कुरा नै नसुनी माओवादीको नाम, चुनाव चिन्ह र विचारसमेतलाई समाप्त पारिदिएको बताए ।

‘मैले सिध्याएको होइन, माओवादी पार्टी मुख्य नेतृत्व प्रचण्डले हामीले हारगुहार गर्दागर्दै पनि सिध्याएर उहाँ अर्कोतिर हिँडिदिनुभयो । हामीले होइन, हामी त यो पार्टी बनाउन यसलाई धेरै वर्षदेखि विधिमा, पद्दतिमा, विचारमा अपग्रेड गरौं, जनतामा जाऊँ, पार्टी सुदृढ गरौं भनेर निरन्तर उहाँलाई अनुरोध गरेको हो । हारगुहार गरेको हो । तर, उहाँले हाम्रो कुरा सुन्नुभएन । माओवादीको नाम, चिन्ह र विचार पनि फेरेर अर्कोतिर गएर समाप्त पारिदिनुभयो । मैले होइन, म त त्यसको रक्षा गर्न पो लागिरहेको छु । ‘नौ वाम एक ठाम’ ले माओवादीलाई सिध्यायो । त्यसको मलामी हुन सकिएन,’– उनले भने ।

लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, विभेदको अन्त्य, जात प्रथाको अन्त्य गर्ने कुरा, गरिबी अन्त गर्दै समाजवादतिर जानका लागि आफूहरुले नयाँ अभियान सुरु गरेको पनि उनले बताए । माओवादीले उठाएकार र बाँकी रहेका एजेण्डालाई पूरा गर्नका लागि, माओवादीका कारणले घाइते भएका योद्धाहरुको सपना पूरा गर्न, सहिद परिवारको सपना पूरा गर्न र आम नेपाली जनताको भावनालाई समेटेर पार्टीलाई नयाँ ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता आएको बताए ।

प्रचण्डले पार्टीलाई आफ्नो व्यक्तिगत सम्पत्ति जस्तो बनाएको र ९ दलीय वाम एकतालाई लिएर निराशा बढेको नेता शर्माले बताए । उनले मुख्य मान्छे नरहँदैमा घरै नरहने भन्ने नहुने बताउँदै फेरि अगाडि बढ्नका लागि सरसल्लाह भइरहेको बताए । प्रचण्डलाई माओवादीमै रोक्न नसकिएको बताउँदै उनले कोही नेता कार्यकर्ता पनि निराश हुन नहुने बताए । प्रचण्डले छोडेर गएपछि सबैको साझा सल्लाह र सहमतिमा, जनतालाई केन्द्र बनाएर अगाडि जानेगरी सल्लाह भइरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖