बुधबार घोषणा हुन लागेको नेपाली कम्युनिस्ट पार्टी (एकीकृत) मा वरिष्ठ नेता झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलपछि खनाललाई तेस्रो स्थानमा राख्ने अन्तिम निर्णय गरिएको स्रोतले जनाएको छ।
यसअघि उक्त वरियतामा बामदेव गौतमलाई राख्ने तयारी थियो, तर अन्तिम समयमा घटकहरूबीचको सहमतिले त्यो क्रम परिवर्तन भएको हो। विभिन्न एकता संयोजनमा असन्तुष्टि जनाउँदै आएका खनाल अन्ततः प्रचण्ड–माधव समूहसँग सहमत हुँदै भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी भएका छन्।
एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहान भएको अन्तिम छलफलमै खनाल तेस्रो वरियतामा बसेर नयाँ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णयमा पुगेका हुन्। नयाँ संरचना अनुसार पार्टीमा प्रचण्ड पहिलो, माधव नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौँ स्थानमा रहनेछन्।
खनालले मंगलबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए। एमालेतर्फ फर्कने तयारीमा रहेको संकेत दिए पनि अन्तिम समयमा उनले नयाँ कम्युनिस्ट पार्टीतर्फ झुकाव देखाएका हुन्। निकट सहयोगीहरूले खनालको निर्णयलाई “राजनीतिक एकताको निरन्तरता र वैकल्पिक वाम एकता निर्माणको प्रयास” का रूपमा व्याख्या गरेका छन्।
पार्टीभित्रका स्रोतका अनुसार, झलनाथ खनालले विगतमा असहमतिका कारण समाजवादीभित्रको भूमिका निष्क्रिय बनाएका थिए। तर, नयाँ एकता प्रक्रियामा उनलाई तेस्रो वरियताको सम्मान दिइएपछि उनी सक्रिय भूमिकामा फर्किने अपेक्षा गरिएको छ।
यससँगै, नेपाली कम्युनिस्ट आन्दोलनमा फेरि एकपटक पुराना नेताहरूको संयुक्त नेतृत्वमा नयाँ समीकरण बनेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् — “खनालको पुनरागमनले प्रचण्ड–माधव गठबन्धनलाई सन्तुलन दिने र एमालेसँगको प्रतिस्पर्धामा बलियो प्रभाव पार्ने सम्भावना बढेको छ।”
