काठमाडौं, १९ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले नवगठित पार्टीको सदस्य संख्या आगामी ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका छन् ।
अहिले नै १२ लाख पार्टी सदस्य रहेको भन्दै उनले अब जनताको बीचमा जाँदा यो संख्या ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका हुन् । आज आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यो दललाई जनताको अपार साथ रहने र पार्टी सदस्यहरुको ठूलो संख्या पुग्ने उनको दाबी छ । सम्बोधनको क्रममा उनले मुलुकको राजनीतिक स्थायित्वको लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गरिनुपर्ने मत राखे ।
उनले निर्वाचन प्रणाली बरु पूर्ण समानुपातिक गरिनुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाँदा नै मुलुकको हित हुने र प्रगति हुने उनको दाबी छ । गौतम सुरुदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा छन् । आजको एकता घोषणासभामा पनि उनले यो कुरा दोहोर्याए ।
प्रस्तावहरुमा पार्टीको नाम, चुनाव चिन्हलगायतका कुरा समेटिएका छन् । एकतापछिको पार्टीको संयोजकमा पुष्कमल दाहाल र सह–संयोजकमा माधवकुमार नेपाल छन् । पार्टीको तेस्रो वरियतामा भने झलनाथ खनाललाई राखिएको छ । खनाल ढिलोगरि यो एकता प्रक्रियामा सामेल भएका हुन् ।
