काठमाडौं । जेनजी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा नख्खुका जेलरले रवि लामिछानेका कारण जेल बचेको बयान दिएको खुलेको छ। जााँचबुझ आयोगले आइतबार जेलर सत्यराज जोशीसँग आयोगमै बयान लिएको थियो ।
बयानका क्रममा जेलर जोशीले रविका कारण जेलमा हुनसक्ने ठूलो क्षति टरेको खुलाउँदै रविलाई धन्यवाद दिनु पर्ने लिखत बयान टिपाएका छन् ।
‘जेलमा बाहिरबाट ठुलो आक्रमण र जोखिम थियो । त्यो भिडमा हजारौं मान्छे थिए । को को थिए मैले चिन्ने कुरा भएन ।’ जेलर जोशीको भनाई उदृत गर्दै स्रोत सिधाकुरासँग भन्यो, ‘त्यसपछि त्यो भिड नियन्त्रणका लागि हाम्रो आग्रहमा रवि जी जेल परिसरको चौतारोसम्म आएर शान्त रहन र जेलमा आक्रमण नगर्न आग्रह गर्नुभयो । उहाँकै कारण जेल बच्यो । उहाँलाई धन्यवाद दिनुपर्छ ।’
बयानका क्रममा जेलर जोशीले देशभरको सुरक्षा व्यवस्था फेल भइसकेको अवस्थामा नख्खु कारागारले पनि आवश्यक थप सुरक्षा प्रबन्ध गर्न नसक्दा जेलबाट कैदी बन्दीहरु निस्कने अवस्था बनेको पनि बयानमा उल्लेख गरेको स्रोतले सिधाकुरालाई बतायो ।
रविलाई बाहिर निस्कन बनाएको पत्रमा आफैँले हस्ताक्षर गरेको पनि जेलर जोशीले बयानमा बताएको स्रोतको दाबी छ ।
‘देशैभर आक्रमण र आगलागी सुरु भएपछि कारागारमा पनि असुरक्षा बढ्यो । त्यसपछि जिल्ला प्रशासन र गृहमन्त्रालयसँग सुरक्षा मद्दतका लागि पटक(पटक आग्रह गरेँ । तर सहयोग उपलबध भएन’, जेलर जोशीको भनाई उदृत गर्दै जाँचबुझ आयोग स्रोतले सिधाकुरासँग भन्यो, ‘त्यसपछि परिवारको जिम्मा लगाउने प्रक्रिया पनि सुरु गरेका थियौं । त्यसै क्रममा
उहाँलाई पनि बाहिर जान भनिएको हो तर आधिकारीक पत्रबिना बाहिर जान्न भन्नुभयो । बाहिरको माहोल र जलिरहेको देशको अवस्थाका कारण मैले एउटा पत्रमा हस्ताक्षर गरेको हुँ। व्यहोरा हेरेको थिइन। ज्यान जोगाउनै मुश्किलको अवस्था थियोे ।’
जाँचबुझ आयोगकाअनुसार आइतबार आयोगका अध्यक्षसहितको टोली नख्खु कारागारको स्थलगत निरिक्षणामा पनि पुगेको थियो । सोक्रममा पनि जेलर जोशीले स्थलगत घटनाक्रम खुलाउँदै रविकै कारण जेल बचेको बताएको एक सदस्यले बताए । आयोग स्रोतकाअनुसार जेलरको बयानबारे बाहिर गरिएको हल्लामा सत्याता कम छ ।
