राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएको घटनाबारे गठित जाँचबुझ आयोगसमक्ष करिब साढे सात घण्टा लामो बयान दिएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले बुधबार दिउँसो १ बजेदेखि सिंहदरबारस्थित कार्यालयमा लामिछानेसँग बयान सुरु गरेको थियो। आयोगका अनुसार बयान क्रममा लामिछानेसँग उक्त दिनको सम्पूर्ण घटनाक्रम, आदेश कसरी आयो र उनी कसरी बाहिरिए भन्ने विषयमा विस्तृत सोधपुछ गरिएको थियो।
बयानपछि प्रहरी भ्यानबाट बाहिरिँदै सञ्चारकर्मीहरूसँग छोटकरीमा कुरा गर्दै लामिछानेले भने, “अहिले केही छैन, समय आउँदैछ।” उनको यो संक्षिप्त प्रतिक्रिया अहिले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा छन्। भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारमा सुरक्षा जोखिम बढेको भन्दै उनी अन्य कैदीसहित बाहिर निस्किएका थिए। तर, त्यसबेला कारागार प्रशासनले लेखेको भनिएको अनुमति पत्रको वैधानिकता विवादमा परेपछि उनी पुनः कारागार फर्किएका थिए।
सोही घटनाको अनुसन्धानका लागि आयोगले लामिछानेलाई बयानका लागि बोलाएको थियो। आयोगका प्रवक्ताका अनुसार, लामिछानेले आफूले कानूनी प्रक्रिया अनुसार मात्र कारागारबाट बाहिरिएको दाबी गर्दै सम्बन्धित प्रमाण र कागजातहरू पनि पेश गरेका छन्।
आयोगले यसअघि नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ। जोशीले तत्कालीन गृहसचिवको निर्देशनमा अनुमति कागजमा सही गरेको स्वीकार गरेका थिए। आयोगले त्यसपछि कारागारको स्थलगत निरीक्षण गरी घटनाको वस्तुस्थिति बुझ्ने कार्यसमेत सम्पन्न गरिसकेको छ।
स्रोतका अनुसार, लामिछानेसँगको बयान अभिलेख गरेर आयोगले अब गृह मन्त्रालय, कारागार प्रशासन र प्रहरी अधिकारीहरूका बयान पनि लिने तयारी गरेको छ। आयोगले यो घटनालाई “जेन–जी आन्दोलनसँग जोडिएको संवेदनशील विषय” भन्दै अनुसन्धानलाई निर्णायक चरणमा पुर्याउने संकेत गरेको छ।
