पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको गृहकार्य तीव्र बनेको छ। देशको बदलिँदो राजनीतिक अवस्थाबीच नयाँ ध्रुवीकरणको प्रयास स्वरूप भट्टराईले विभिन्न दलका नेतासँग छलफल सुरु गरेका छन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल, हालै माओवादी केन्द्र छाडेका पूर्वमन्त्री जनार्दन शर्मा, सुदन किरातीलगायत नेताहरू सहभागी रहेका छन्। उनीहरूले देशमा उत्पन्न राजनीतिक अस्थिरता र जनआन्दोलनपछि देखिएको नयाँ राजनीतिक मर्मअनुसार वैकल्पिक शक्ति निर्माणका सम्भावनाबारे विस्तृत छलफल गरेका हुन्।
भट्टराईको सचिवालयका अनुसार, छलफलको केन्द्र विषय समग्र राजनीतिक पुनर्गठन, जेनजी आन्दोलनपछि देखिएको राजनीतिक चेतना, र नयाँ पुस्ता तथा असन्तुष्ट समूहलाई समेटेर “भरपर्दो र जिम्मेवार वैकल्पिक राजनीतिक शक्ति” निर्माण गर्ने हो।
स्रोतका अनुसार, यो पहल कुनै नयाँ दलको औपचारिक घोषणा होइन तर साझा विचार, वैकल्पिक नीति र सहकार्यको मोर्चा तयार पार्ने प्रारम्भिक गृहकार्यका रूपमा अगाडि बढाइएको हो।
डा. भट्टराईले विगतमा पनि वैकल्पिक राजनीतिक बाटो खोज्ने प्रयास गर्दै आएका छन्, र यो पहलले मुलुकमा पुनः नयाँ राजनीतिक समीकरणको संकेत दिएको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।
