• Sunday 18th of October 2026

राज्य असफल, अब जनताको जिउधनको रक्षा एमालेले गर्छ: ओली


  • धनकुटा खबर
  • .

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको जिउधनको रक्षा गर्न असफल भएको आरोप लगाएका छन्। उनले अब एमालेले नै जनताको सुरक्षा जिम्मा लिने घोषणा गरेका छन्।

भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा नेता–कार्यकर्तासँग भेट्दै ओलीले देशभर बढ्दो असुरक्षा र लुटपाटका घटनाप्रति चिन्ता व्यक्त गरे।
‘राज्यले जनताको जिउधनको रक्षा गर्न सकेन,’ ओलीले भने, ‘अब नेकपा एमालेले नै जनताको जिउधनको रक्षा गर्छ।’

उनले देशभर टोल–टोलमा स्वायत्त सुरक्षा समिति गठन गर्ने निर्देशन पनि दिएका छन्।

‘हामीले निर्देशन गरिसकेका छौं, अब साथीसँगै टोल सुरक्षा समिति बनाउनुपर्छ,’ उनले भने, ‘यी समिति स्वतन्त्र र स्वचालित हुनेछन्।’

ओलीले हालका आगजनी र तोडफोडका घटनाहरूलाई जेन–जी आन्दोलनसँग जोड्दै समाजमा घृणा फैलाएर मानिसलाई ‘राक्षस’ बनाइएकै कारण यस्तो स्थिति आएको टिप्पणी गरे।
‘जब मान्छेलाई राक्षस बनाइन्छ, अनि आगो लाग्छ,’ उनले भने, ‘मान्छेबाट बिस्तारै राक्षस बनाएपछि राष्ट्रको सम्पत्तिमा आगो लाग्छ।’

पार्टीभित्रको एकतामा जोड दिँदै ओलीले भने, ‘आफ्नै पार्टीलाई कमजोर बनाउनु भनेको आफ्नै खुसीले विष खानु जस्तै हो।’ उनले प्रतिस्पर्धालाई द्वेष होइन स्वस्थ प्रतिद्वन्द्विताको रूपमा लिनुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖