• Sunday 18th of October 2026

रिलायन्सले कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता मध्ये २ करोड ७७ लाख बुझायो


  • धनकुटा खबर
  • .

रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौतामध्ये पहिलो किस्ता बुझाएको छ। किस्ता नतिरेसम्म लाइन जोडिने सम्भावना नदेखिएपछि कम्पनीले प्राधिकरणलाई पहिलो किस्ताबापत २ करोड ७७ लाख रुपैयाँ तिरेको हो।

प्राधिकरणका अनुसार कम्पनीले २८ किस्तामा रकम बुझाउने सम्झौताअनुसार पहिलो किस्ता भुक्तानी गरेको हो। रिलायन्सले डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेबापत प्राधिकरणलाई कुल ७५ करोड ३७ लाख रुपैयाँ तिर्न बाँकी थियो। पहिलो किस्ता तिरे पनि अझै करिब ७२ करोड ६० लाख रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरण अधिकारीले बताएका छन्।

किस्ता तिरेसँगै प्राधिकरणले उद्योगको काटिएको बिजुली लाइन पुनः जडान गरेको छ। लाइन पुनः जोडिएपछि लामो समयदेखि बन्द रहेको उद्योग पुनः सञ्चालनमा आएको छ।

कम्पनीका स्रोतका अनुसार बाँकी बक्यौता रकम तिर्न रिलायन्स स्पिनिङ मिल्सले निकट भविष्यमा सार्वजनिक निष्कासन (IPO) मार्फत रकम जुटाउने तयारी गरेको छ। बक्यौता तिर्न नसकेकै कारण कम्पनीको आइपिओ प्रक्रिया यसअघि स्थगित भएको थियो।

विद्युत प्राधिकरणले लामो समयदेखि बक्यौता तिर्न ढिलाइ गर्ने उद्योगहरूलाई किस्तामा रकम बुझाउने सुविधा प्रदान गर्दै आएको छ। रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता बुझाएपछि उद्योग क्षेत्रबाट पनि सकारात्मक सन्देश गएको प्राधिकरणको मूल्याङ्कन छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖