पोखरा- जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी र तोडफोड गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपक नेपाली, खड्कबहादुर थापा, खुमराज गुरुङ, नवराज खड्का र एलिसा गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार रुपक नेपालीले “रिसोर्टमा प्रचण्डको लगानी छ” भन्ने हल्ला फैलाउँदै भीडलाई उक्साएका थिए। उनलाई आन्दोलनको नाममा योजनाबद्ध रूपमा आगजनी गराएको अभियोग लगाइएको छ।
उनी पोखरा रंगशालामा प्रशिक्षण दिने व्यक्ति भएको र सोही प्रभावमा केही समूह रिसोर्टमा पुगेको प्रहरीले जनाएको छ। सो रिसोर्ट लमजुङका जितु नामक व्यक्तिको भएको खुल्न आएको छ।
पक्राउ परेकामध्ये खड्कबहादुर थापा पोखरा–१८ का होटल व्यवसायी हुन्। प्रहरीले उनीहरूले आन्दोलनको आवरणमा तोडफोड र आगजनी गरेर जनआस्थामाथि आघात पुर्याएको बताएको छ।
