काठमाडौं — नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीभित्रको महाधिवेशन तयारीलाई लिएर आफ्नो राजनीतिक सक्रियता तीव्र बनाएका छन्।
१५औं महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा संस्थापन पक्ष र गगन थापा समूहबीच सहमति नजुटेपछि शेखरले आफूनिकट नेताहरूसँग परामर्श थालेका हुन्।
कोइरालाले शुक्रबार काठमाडौंमा रहेका आफूनिकट केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरेका छन्। छलफलमा आगामी महाधिवेशनमा समूहगत रणनीति, संगठन सुदृढीकरण र संस्थापन पक्षसँगको दूरीबारे गम्भीर बहस भएको स्रोतले जनाएको छ।
यसअघि हिजो संस्थापन पक्षधरहरूले बत्तिसपुतलीमा छुट्टै भेला आयोजना गरेका थिए। सो भेलामा महामन्त्री गगन थापाले १५औं महाधिवेशन आगामी पुष १६ गतेदेखि सुरु गर्ने प्रस्ताव गरेका थिए। तर शेरबहादुर देउवानिकट सहमहामन्त्री महेन्द्र यादवले भने अर्को मिति, २०८३ साल बैशाख अन्तिमतिर गर्ने सुझाव दिएका छन्।
महाधिवेशनको मिति र तयारीका विषयमा पार्टीभित्र फरक धार देखा परेसँगै नेताहरूबीच आन्तरिक शक्ति सन्तुलनका प्रयास तीव्र बनेका छन्।
