• Sunday 18th of October 2026

रास्वपाबाट कार्यकारी सभापति नपाएपछि कुलमानले थाले नयां दल दर्ता गर्ने तयारी


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकारी सभापति दिन अस्वीकार गरेपछि ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अलग्गै दल दर्ता गर्ने तयारी थालेका छन्। घिसिङको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ दल दर्ता हुने भएको हो।

हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर निर्वाचन आयोगमा दल दर्ता गर्न लागेको स्रोतले जनाएको छ। घिसिङनिकट जीतराम वाइबाका अनुसार शुक्रबारसम्म आयोगमा निवेदन दर्ता गरिनेछ।

मन्त्री भएको कारणले आफ्नै नाममा दल दर्ता गर्न नपाउने घिसिङले सरकारमा बसेर काम गर्दै चुनावी तयारी पनि अघि बढाइरहेका छन्। वाइबाका अनुसार, “उज्यालो नेपाल पार्टी घिसिङकै भिजनमा खुलेको हो। उहाँले पछि नेतृत्व सम्हाल्ने र चुनावमा उम्मेदवारी दिने तयारी छ।”

रास्वपासँग सहकार्यबारे पटक–पटक छलफल भए पनि सहमति नजुटेको घिसिङ पक्षको दाबी छ। घिसिङले तीन सर्त राखेका थिए — कार्यकारी सभापति बन्ने, रास्वपा नाममा ‘उज्यालो’ शब्द समावेश गर्ने, र पार्टी संरचनामा ३०–५० प्रतिशत हिस्सा पाउने। तर रास्वपाले यी सर्त अस्वीकार गरेपछि वार्ता टुंगिएको हो।

रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालसँग घिसिङले लगातार वार्ता गरे पनि सहमति हुन सकेन। पार्टीभित्रका स्रोतका अनुसार, काठमाडौँका मेयर बालेन्द्र शाह, सुमना श्रेष्ठ र जेनजीका सुदन गुरुङलगायत नेताहरू घिसिङको पक्षमा खुलेर उभिएका छन्।

रास्वपाले भने पार्टीको सभापति पद नछोड्ने अडान दोहोर्याउँदै चुनाव केन्द्रित कार्यक्रम तय गर्न लागेको छ। चितवनमा शुक्रबार र शनिबार हुने केन्द्रीय विस्तारित बैठकमा आगामी रणनीति तय गरिने रास्वपाका सहप्रवक्ता गणेश पराजुलीले बताएका छन्।

यसबीच, बालेन शाहको समर्थन र नयाँ पुस्ताको आकर्षणका कारण कुलमान घिसिङले नयाँ शक्ति निर्माणको अभियानलाई तीव्र पारेका छन्। राजनीतिमा प्राविधिक पृष्ठभूमिबाट आएका घिसिङले “स्वच्छ ऊर्जा, पारदर्शी नेतृत्व र व्यावहारिक विकास” भन्ने नारा सहित नयाँ राजनीतिक यात्रा सुरु गर्न तयारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖