• Sunday 18th of October 2026

रास्वपाले बिचार मिल्नेसंग चुनावी गठबन्धन गर्ने


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधि सभा निर्वाचनमा विचार मिल्ने दल, समूह र स्वतन्त्र व्यक्तिहरूसँग गठबन्धन गर्न सक्ने संकेत दिएको छ। चितवनमा सुरू भएको पार्टीको विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाले नयाँ र समान सोच भएका शक्तिहरूसँग सहकार्य खुला राख्ने निर्णय गरेको हो।

प्रतिवेदनमा भनिएको छ, “नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक दलहरूसँग निर्वाचनमा र त्यसपछि सरकार गठनमा पनि सहकार्य र गठबन्धन गर्न सकिनेछ।” तर पार्टीको पहिचानमा छायाँ पर्न नदिने स्पष्ट अडान पनि प्रतिवेदनमा राखिएको छ।

रास्वपाले आउँदो चुनावलाई “अग्रगामी र प्रतिगामी शक्तिबीचको निर्णायक संघर्ष” भन्दै चुनावी तयारीमा कुनै पनि कमजोरी नदेखाउने चेतावनी दिएको छ। प्रतिवेदनमा भनिएको छ, “यदि हामीले उत्साहजनक नेतृत्वदायी परिणाम ल्याउन सकेनौं भने देश फेरि पुरानै दलहरूको कुशासन र अस्थिरतामा फस्नेछ।”

त्यस्तै, पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउने प्रतिबद्धता जनाएको छ। प्रतिवेदनका अनुसार, “उम्मेदवार छनोटमा पार्टीका सबै संरचनाको अपनत्व हुनुपर्नेछ, जसले आन्तरिक विभाजन रोक्ने र जनतामाझ सकारात्मक सन्देश पठाउनेछ।”

चितवनको बैठकलाई रास्वपाले आगामी चुनावका लागि रणनीतिक तयारीको रूपमा लिएको छ। पार्टीले अब विचार मिल्ने स्वतन्त्र शक्ति र समूहहरूसँग सहकार्यका सम्भावनाहरू अध्ययन गर्ने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖