• Sunday 18th of October 2026

रास्वपामा आउने कुलमानको तयारी, पुकार बमसँग निरन्तर वार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिव नेपालीले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कुनै दलसँग पनि गठबन्धन गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता नेपालीले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा निर्वाचनमा गठबन्धन गरेर जानेबारे छलफल भएको भए पनि त्यसो गर्नु उपयुक्त नहुने बताएका हुन् । वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपाले आगामी दिनमा गठबन्धन गरेर जाने कुरा भूल हुने उनले बताए ।

‘गठबन्धन गर्ने, नगर्ने भन्ने विषयमा बृहत छलफल भएको छ । तर, निर्णय भइसकेको छैन । कार्यवाहक सभापतिको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्ने भनेर प्रत्यक्ष रुपमा चाहिँ बोलिएको छैन । हिजोको दिनमा वैकल्पिक शक्ति भनेर उदाएको रास्वपा भविष्यमा पनि आम जनताको पक्षमा काम गर्ने गरेर हामीले सम्मानित सदनमा भूमिका निर्वाह गर्यौं । कुनै पनि दलसँग गठबन्धन गरेर जानुपर्ने स्थिति खडा हुन्छजस्तो मलाई लाग्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो भूल गर्दैन जस्तो मलाई लाग्छ । एक्लै चुनाव लड्ने हो,’– उनले भने ।

साथै, उनले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङ रास्वपामा आउने बारेमा छलफल भइरहेको पनि उनले बताए । घिसिङ रास्वपामा आए पनि अबको दुई कार्यकाल (१० वर्ष) पार्टी सभापतिमा रवि लामिछानेभन्दा अरु कसैलाई स्वीकार गर्न नसकिने पनि उनले बताए ।

‘यदि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आउने निर्णय लिइसक्नु भएको छ भने कुलमानजीजस्तो आदरणीय व्यक्ति देशलाई चाहिन्छ । अब अहिले नागरिक सरकारको ३ वटा महत्वपूर्ण मन्त्रालय सम्हालेर बस्नु भएको छ । उहाँले आफ्नो कार्य क्षमता प्रयोग गर्न पाउनुपर्छ भन्ने रास्वपाको धारणा हो । कुलमानजीलाई नै सभापति मानेर जानुपर्छ भन्ने कुरामा चाहिँ मेरो पनि व्यक्तिगत बुझाइ हिजोको दिनमा रवि लामिछानेले खडा गरेको यो रास्वपा मलाई लाग्छ अबको १० वर्ष दुई कार्यकाल हामी अगाडि बढ्न, किनभने हामी हिजोको संस्थापक सदस्य पनि हौं । कसैले साथ नदिँदाखेरी आम जनताको घर दैलोमा गएको हो,’– उनले भने ।

आफूहरु रास्वपामा कुलमानलाई स्वागत गर्न आँतुर रहेको र केन्द्रीय सदस्य पुकार बमसँग कुलमानसँग वार्तासमेत भइरहेको उनले खुलासा गरे । ‘कुलमानजीलाई हामी स्वागत गर्न चाहन्छौं । कुलमानजीसँग हाम्रो केन्द्रीय सदस्य पुकार बमसित वार्तालाप पनि भइनै राखेको छ । रविबाहेक अरुलाई सभापति स्वीकार गरेर अगाडि बढ्ने कुरामा चाहिँ प्रश्न चिन्ह खडा हुन्छ,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖