राजसंस्था पुनःस्थापनाको उद्घोष गर्दै आन्दोलन घोषणा गरेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं भारतको सुरक्षा संयन्त्रको निगरानीमा परेका छन्। भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) ले प्रसाईंको गतिविधि भारतको सुरक्षामा असर पार्न सक्ने भन्दै उनको हरेक कदममा नजर राखिरहेको भारतीय सुरक्षा स्रोतले पुष्टि गरेको छ।
शुक्रबार बेलुकी नयाँदिल्लीबाट काठमाडौं फर्किँदै गर्दा प्रसाईंलाई भारतीय अध्यागमनले करिब ४० मिनेटसम्म ‘होल्ड’ गरी सोधपुछ गरेको थियो। सो घटनाको जानकारी दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेपछि राजदूत शंकर शर्मा ले भारतीय अधिकारीहरूसँग छलफल गरेका थिए। त्यसपछि मात्रै प्रसाईंलाई नेपाल फर्कन अनुमति दिइएको थियो। उनी नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१८ मार्फत काठमाडौं आएका हुन्।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार, प्रसाईंले नेपालमा चलाइरहेको राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना अभियान भारतको आन्तरिक सुरक्षासँग पनि जोडिन सक्ने भन्दै उनको निगरानी गरिएको हो। भारतमा रहँदा प्रसाईंले दिएका अतिरञ्जित राजनीतिक अभिव्यक्तिहरू पनि भारतीय अधिकारीहरूले नोटिसमा राखेका थिए।
यसअघि पनि प्रसाईं तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भारत भागेका थिए। त्यतिबेला उनी दिल्ली, प्रयागराज र लखनउसम्म पुगेका थिए र भारतीय जनता पार्टी (भाजपा)सँग सम्बद्ध राष्ट्रिय स्वयंसेवक संघ (RSS) का नेतासँग सम्पर्कमा रहेको प्रहरी अनुसन्धानले देखाएको थियो।
भारतीय अधिकारीहरूले हालै प्रसाईंलाई “भारतमा रहँदा राजनीतिक गतिविधि नगर्नु र भारतीय समर्थनको झूटा दाबी नगर्नु” भनेर चेतावनी दिएको भारतीय मिडिया एनडीटीभीले उल्लेख गरेको छ।
दिल्ली विमानस्थलमा केरकारमा परेपछि प्रसाईंले नेपाली दूतावासलाई पठाएको इमेलमा असन्तुष्टि जनाउँदै राजदूतमाथि आक्रोश पोखेका थिए। तर, दिल्लीस्थित दूतावासका अधिकारीहरूले भने उनको निगरानी भारतको सुरक्षा निकायको निर्णयमा आधारित भएको बताए।
नेपाल फर्किएपछि प्रसाईंले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध ‘झूटको खेती’ भइरहेको दाबी गर्दै भारतसँगको दूरी बढेको भन्दै टिप्पणी गरेका छन्। सुरक्षा निकायका विश्लेषकहरूका अनुसार, प्रसाईंको हालको गतिविधिले नेपाल–भारत सम्बन्धमा कूटनीतिक संवेदनशीलता थपिएको देखिन्छ।
