• Sunday 18th of October 2026

सुदन गुरुंगको नागरिकता छानबिनका लागि सरकारलाई एमालेको एक हप्ते अल्टिमेटम


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवासंघ नेपाल ले “हामी नेपाल” का संस्थापक सुदन गुरुङ को नागरिकता छानबिनका लागि सरकारले एक हप्ताभित्र निष्कर्ष सार्वजनिक गर्नुपर्ने चेतावनी दिएको छ। संघले भनिएको समयसीमाभित्र छानबिन नभए आफूहरू नै कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।

शनिबार बसेको संघको पदाधिकारी बैठकले सरकारलाई पत्रमार्फत आग्रह गर्ने र आवश्यक परे गुरुङलाई खोजी गरी प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको हो। संघका प्रवक्ता निरोज पौडेल ले बैठकपछि भने, “सुदन गुरुङको नागरिकता सक्कली हो कि नक्कली, यसको छानबिन एक हप्ताभित्र सार्वजनिक गर्नुपर्छ। सरकार मौन बस्यो भने युवासंघ आफैंले उनलाई खोजेर प्रहरीमा बुझाउनेछ।”

जेन–जी आन्दोलनका सहयोगी सुदन गुरुङ हालका दिनमा विवादमा छन्। उनले २३ भदौमा भएको आन्दोलनमा भएको ‘राज्यदमन’ का लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरी छानबिन गर्न माग गर्दै आएका छन्।

संघले उक्त आन्दोलनमा पार्टी संरचना र कार्यकर्तालाई पुगेको क्षतिको जिम्मेवारी लिँदै पार्टी अध्यक्ष ओलीको तेह्रथुमस्थित निवास पुनर्निर्माण गर्ने अभियान सुरु गर्ने निर्णयसमेत गरेको छ। साथै, आन्दोलनका नाममा “देश जलाउनेहरूलाई कानुनी कठघरामा ल्याउने” र जेन–जी पुस्तालाई देश निर्माणको अभियानमा समेट्ने निर्णय पनि बैठकले गरेको जनाएको छ।

संघका अध्यक्ष क्षितिज थेबे को अध्यक्षतामा सम्पन्न बैठकले हालको राजनीतिक अस्थिरता र आन्दोलनको प्रभावमाथि पनि छलफल गरेको थियो। संघका अनुसार, “अब युवाहरूले विधिसम्मत रूपमा मुद्दा उठाउने र राष्ट्रविरोधी गतिविधिमा संलग्न जोसुकै होस्, कानुनी जवाफदेही बनाउने” नीति अपनाइनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖