त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को रनवे फ्लड लाइट बिग्रिएपछि सबै उडान र अवतरण स्थगित भएका छन्। शनिबार राति फ्लड लाइटमा समस्या देखिएपछि कोरिया जाने यात्रुहरूलाई फर्काइएकाे र कोरियाबाट आएको विमान भारततर्फ डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ।
विमानस्थलका प्रवक्ता अनुसार फ्लड लाइट मर्मत कार्य सुरु गरिएको छ र राति ९:३० बजेसम्म टेकअफ र ल्याण्डिङ बन्द रहनेछ। यसबीचमा धेरै अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही विमान आकाशमै होल्ड अवस्थामा छन्।
चेक–इन पूरा गरिसकेका यात्रुहरूलाई पनि फर्काइँदा विमानस्थलमा अव्यवस्था र भीड बढेको छ। यात्रुहरू प्रतीक्षालय र चेक–इन काउण्टर वरिपरि अलपत्र परेका छन्।
विमानस्थलका प्राविधिक टोलीले बिग्रिएको फ्लड लाइट मर्मतको काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ। विमानस्थल स्रोतका अनुसार, “समस्या समाधान भएलगत्तै नियमित उडानहरू पुनः सुचारु गरिनेछ।”
फ्लड लाइट बिग्रँदा विशेषगरी रातको अन्तर्राष्ट्रिय उडानहरू प्रभावित बनेका छन्। यात्रुहरूले मर्मत कार्यमा ढिलाइ र सूचनाको अभावका कारण असन्तुष्टि जनाएका छन्।
