काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि एमाले–निकट जेनजी मुभमेन्ट अलायन्स ले कडा आपत्ति जनाएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै अलायन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई उठाउने होइन, समाधान खोज्नुपर्ने बताएको छ। संगठनले चेतावनी दिंदै भनेको छ, “यदि सुकुम्बासी बस्तीमाथि बल प्रयोग गरियो भने, हामी बालेन नेतृत्वको महानगरविरुद्ध देशव्यापी आन्दोलन तीव्र पार्नेछौं।”
अलायन्सका अनुसार भूमिहीन र विस्थापित जनतामाथि राज्यले आप्रवासीजस्तो व्यवहार गरेको छ, जुन अत्यन्तै अमानवीय र असंवेदनशील कार्य हो। विज्ञप्तिमा भनिएको छ, “नेपालको सन्दर्भमा भूमिहीनता कुनै अपराध होइन, यो राज्यको ऐतिहासिक अन्यायको परिणाम हो।”
अलायन्सले काठमाडौं महानगरपालिकालाई पर्याप्त अध्ययन, सहमति र विकल्प बिना बस्तीमा डोजर नचाल्न आग्रह गर्दै चेतावनी दिएको छ — “हामी संवादका पक्षमा छौं, तर निहत्था जनतामाथि दम्भ, तिरस्कार र बेवास्ता सहिँदैन।”
विज्ञप्तिमा भनिएको छ, बस्तीहरू हटाउने नाममा नक्कली–सक्कली सुकुम्बासीको बहानामा वास्तविक पीडितको अधिकार नथिचियोस्, र सबै बस्तीहरूको यथार्थ विवरण सार्वजनिक गर्न पनि महानगरलाई आह्वान गरिएको छ।
अन्त्यमा अलायन्सले काठमाडौंलाई “सबैको साझा सहर”का रूपमा विकास गर्न आग्रह गर्दै भनेको छ — “सार्वजनिक सम्पत्ति जनताको हो, राज्य त्यसको व्यवस्थापक मात्र हो भन्ने हेक्का बालेन शाहले राख्नुपर्छ।”
