• Sunday 18th of October 2026

संविधानभन्दा सीडीओको आदेश माथि हुँदैन: ओली


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरूलाई प्रशासनले अनुमति नदिए पनि सडकमा उत्रिन निर्देशन दिएका छन्। आइतबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उनले जनताका संवैधानिक अधिकार प्रयोग गर्न नडराउन र राजनीतिक गतिविधि रोक्ने प्रयासको प्रतिवाद गर्न आग्रह गरे।

ओलीले भने, “प्रशासनलाई जानकारी दिनुस्, लुकेर गर्नुपर्ने छैन। हामीले यसरी गर्दैछौं भनेर भन्नुहोस्। तर स्वीकृति दिन मानेन भने पनि सडकमा उत्रनुस्। संविधानभन्दा सीडीओको आदेश माथि हुँदैन।”

उनले युवाहरूलाई शान्तिपूर्ण तर दृढ रूपमा सडकमा जनमत अभिव्यक्त गर्न आग्रह गर्दै राज्य शक्तिले आन्दोलन दवाउन खोजे आन्दोलन अझ सशक्त हुने चेतावनी दिए। ओलीले अहिलेको राजनीतिक परिस्थितिमा जनताको आवाज सडकबाटै उठ्नुपर्ने भन्दै विपक्षीको भूमिका निभाउन युवालाई सक्रिय हुन आह्वान गरे।

राष्ट्रिय युवा संघ नेपालको बैठकमा ओलीको यो भनाइपछि एमाले निकट युवाहरूले आन्दोलनका तयारी तीव्र पारेका छन्। पार्टी भित्रका स्रोतका अनुसार, ओलीको निर्देशनलाई सडक संघर्षको संकेतका रूपमा लिइएको छ।

प्रशासन र सुरक्षा निकायले भने स्वीकृति बिना कुनै प्रदर्शन अवैध हुने बताउँदै सार्वजनिक सुरक्षामा असर पर्ने गतिविधिमाथि निगरानी बढाउने तयारी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖