• Sunday 18th of October 2026

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा फरार रहेका राई अन्ततः पक्राउ


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या गरेको आरोपमा फरार रहेका इन्द्रबहादुर राई अन्ततः पक्राउ परेका छन्। उनलाई शनिबार सामाखुसीमा राजावादी आन्दोलनका बीच पक्राउ गरिएको हो। राईलाई समात्न प्रहरीले ‘अपरेशन कजारिया’ नामको विशेष अनुसन्धान अभियान सञ्चालन गरेको थियो।

गत वर्ष महाराजगञ्ज प्रहरी वृत्त परिसरमा आन्दोलनकै क्रममा असई मिलन राय र प्रहरी जवान उत्तम थापाको निर्मम हत्या गरिएको थियो। प्रहरीमा प्राप्त एक भिडियोमा कालो हाफ पाइन्ट, सेतो जुत्ता र ‘कजारिया’ लेखिएको टीसर्ट लगाएका युवकले प्रहरीलाई भाटाले प्रहार गर्दै हत्या गरेको दृश्य देखिएको थियो।

त्यही दृश्यको आधारमा प्रहरीले एक वर्षदेखि सो युवकको खोजी गर्दै आएको थियो। शनिबार सामाखुसीमा राजावादी प्रदर्शनका बीच सोही ‘कजारिया’ टीसर्ट लगाएको व्यक्ति देखिएपछि प्रहरीको सादा पोशाक टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेपछि उनको परिचय भोजपुर दोभान गाउँपालिका–२ का ३६ वर्षीय इन्द्रबहादुर राईको रूपमा खुलेको प्रहरीले जनाएको छ।

उनको पवित्रनगरस्थित डेरामा खानतलासी गर्दा प्रहरी हत्या गर्दा प्रयोग गरिएको सेतो जुत्ता, लुटिएको पेस्तोल, म्यागजिन र सात राउन्ड गोली फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

राईविरुद्ध यसअघि पनि प्रहरी हत्या सम्बन्धी मुद्दा दर्ता भइसकेको थियो। प्रहरीले उनलाई पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानले उनी जेनजी आन्दोलनमा प्रत्यक्ष संलग्न भएको पुष्टि भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖