नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीभित्र चलिरहेको गुप्त राजनीतिक भेटघाटप्रति असन्तुष्टि जनाएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले हाल चर्चामा रहेको गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटबारे टिप्पणी गर्दै भने, “यदि कुरा गर्नै हो भने, खुला रूपमा गरौँ, पार्टीका सबैलाई थाहा हुने गरी गरौँ, लुकेर किन भेट्ने?”
रिजालले संसद् पुनर्स्थापनाको मुद्दामा कांग्रेसको अस्पष्ट धारणा रहेको भन्दै पार्टीले अब स्पष्ट रूपमा कुन पक्षमा उभिने हो निर्णय गर्नुपर्ने बताएका छन्। उनका अनुसार, “यदि अहिलेको संसद्ले म्यान्डेट गुमाएको होइन भने आन्दोलन किन भयो? र यदि म्यान्डेट गुमाएको हो भने, नयाँ म्यान्डेटका लागि तयार हुनुपर्छ।”
उनले कांग्रेस नेतृत्वमाथि राजनीतिक अवसरवादको आरोप समेत लगाए। “हिजो प्रचण्डसँग मिल्यौँ, आज ओलीसँग मिल्छौँ भन्ने परम्परा अन्त्य हुनुपर्छ,” उनले भने, “पार्टीले अब देशलाई स्पष्ट सन्देश दिनुपर्छ कि हामी कता उभिएका छौँ।”
रिजालले बैठकमा गगन–ओली भेटप्रति सीधा कटाक्ष गर्दै थपे, “यदि ओलीसँग कुरा गर्नै थियो भने, खुला रूपमा पार्टीको साक्षीमा गर्नुपर्थ्यो। यो गोप्य भेटको शैलीले कांग्रेसको विश्वसनीयता कमजोर बनाउँछ।”
बैठकमा सहभागी अन्य केही नेताहरूले पनि रिजालको भनाइमा समर्थन जनाएका छन्। उनीहरूले पार्टीभित्र चलिरहेको मतभेद र अस्पष्ट रणनीतिले जनस्तरमा भ्रम सिर्जना गरिरहेको बताएका छन्।
