एक सातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि पुनः काठमाडौँमा पथान्तरण हुने भएको छ। आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि मुहान क्षेत्र खुला गरिएको हो।
गत कात्तिक २० गतेदेखि अम्बाथानस्थित मुहानमा पुगेका पीडितहरूले माग पूरा नभएको भन्दै पानी पथान्तरण रोकेका थिए। तर, शहरी विकास, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको संयोजनमा भएको वार्तामा सहमति जुटेपछि आन्दोलन अन्त्य भएको हो।
सहमति अनुसार, २०७८ असारमा आएको बाढीले क्षति पुर्याएका संरचना र सम्पत्तिको वास्तविक मूल्यांकन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तीन महिनाभित्र गराइनेछ। मूल्यांकनमा पीडित पक्षका तीन प्रतिनिधि रहनेछन्।
त्यसैगरी, मेलम्ची–हेलम्बु एकीकृत विकास कार्यक्रम आगामी आर्थिक वर्षदेखि सुरु गरिने र मुहानसम्म पुग्ने सडक निर्माणका लागि १ अर्ब रुपैयाँको बहुवर्षीय बजेट विनियोजन गर्ने सहमति भएको छ। साथै, मेलम्ची खानेपानी आयोजनाबाट उठ्ने शुल्क प्रस्ताव ४५ दिनभित्र मन्त्रिपरिषदमा पेश गरिनेछ।
वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने निर्णय गरेका छन्, जससँगै आजदेखि मेलम्चीको पानी फेरि काठमाडौँमा बग्ने भएको छ।
