उज्यालो नेपाल पार्टी गठनका क्रममा सुरुवातमा पूर्वमन्त्री सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङको समूह पनि छलफलमा थियो । ऊर्जामन्त्री कुलमान घिसिङले चरणबद्ध छलफल गरेका थिए । तर, अन्तिममा पार्टीको नाम, संयोजकमा असहमति जनाउँदै श्रेष्ठ जोडिइनन् । श्रेष्ठ नजोडिएपछि दर्ता गर्ने दिन मंगलबार सुदन गुरुङ पनि पछि जोडिने भन्दै बाहिरिए ।
सोमबारसम्म सुदन गुरुङको जेन–जी नेटवर्कमा आबद्ध ६ वटा प्रदेशका संयोजक उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बन्न सहमत हुँदै सूचीमा नाम राखिएको थियो । तर, मंगलबार सुदन गुरुङले अहिले साथ दिन नसक्ने भनेपछि उनीहरूको नाम हटाएर केन्द्रीय सदस्यको सूची आयोगमा बुझाइएको एक सदस्यले बताए ।
‘सुमनाजीले अनेक प्रश्न गर्नुभयो । सहिद परिवारको मान्छे संयोजक हुनुपर्यो भन्नुभयो,’ उनले भने, ‘जेन–जीको कोही संयोजक बनाउनुपर्छ भन्नुभयो । तर, हामीले अनुहार देखाउनेभन्दा डेलिभरी खोजेको हो, सुशासन, विकास, रोजगारीको अपेक्षा हो भन्यौँ । जेन–जीको आन्दोलनलाई ग्ल्यामराइज गर्ने हो कि खोजेको मुख्य अपेक्षा पूरा गर्ने हो भनेर राख्यौँ ।’
त्यसपछि सुमनाले ‘कुलमान घिसिङको पार्टी भन्ने, कुलमान घिसिङ प्रत्यक्ष लिडरसिपमा नआउने, यस्तो पनि हुन्छ ?’ भनेर प्रश्न गरेकी थिइन् । त्यसमा पार्टीले कुलमानलाई सफल बनाउने सहयोद्धा भएको र कुलमान आइसकेपछि छोड्ने जवाफ दिइएको थियो । साथै, एक व्यक्ति, एक पदको अवधारणाअनुसार पनि कुलमान मन्त्री भएकाले अहिले आउन नसकेको जवाफ दिएका थिए ।
त्यसपछि सुमनाले अनुपराज उपाध्यायलाई अहिले अध्यक्ष बनाएपछि कुलमान आउने वेला छोड्छन् त भनेर प्रश्न गरेकी थिइन् । पार्टीले कुलमानले नै सबै पक्षसँग सक्रिय छलफल गरेर पार्टी बनाएकाले उनी नै नेतृत्वमा रहने जवाफ दिँदा सुमना आफू कसरी जोडिने भन्ने मोडमा पुगेको र अहिले शक्तिहीन अवस्थामा कुन पद पाउने भन्ने अन्योलले जोडिन नसकेको तर निरन्तर संवाद भइरहेको नेताहरूले बताएका छन् । उनीहरूले १५ दिन वा महिना दिनपछि कुलमानले पार्टीको नेतृत्व सम्हाल्ने बताएका छन् ।
सुमनाले नेपाल विकास पार्टी राख्न प्रस्ताव गरेको र आफूहरूले नेपाल उज्यालो विकास पार्टी प्रस्ताव गरेर बालेनसहितलाई जोड्न खोजे पनि कुरा नमिलेको नेताहरू बताउँछन् । नेताहरूका अनुसार सुमना र सुदन गुरुङ नजोडिए पनि काठमाडौंका मेयर बालेन्द्र शाहनिकट व्यक्तिहरू केन्द्रीय सदस्य बनेका छन् । उनीहरूले यसलाई बालेनकै समर्थनका रूपमा दाबी गरेका छन् ।
पछिल्लो समय पूर्वाधार र सहरी विकासका सन्दर्भमा बालेन र कुलमानबिच राम्रो सहकार्य रहेको बताइन्छ । कुलमान घिसिङले नेतृत्व सम्हाल्ने वेलासम्म सुदन गुरुङले पनि भविष्यमा सहकार्य गर्ने वाचा गरेका छन् ।
जेन–जीले खोले जनादेश पार्टी
अधिवक्ता रमन कर्णको संयोजकत्वमा जेन–जी युवाहरूले जनादेश पार्टी नेपाल गठन गरेका छन् । युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पार्टीको मस्यौदाकार जस्मिन ओझाले पार्टीमा १८ वर्षदेखि ८० वर्ष उमेरसम्म पाँचवटा जेनरेसन (पुस्ता)को प्रतिनिधित्व रहेको बताइन् । पार्टीको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ ।
केन्द्रीय सदस्यमा माधवसुन्दर खड्का, योगेन्द्र तामाङ घिसिङ, एलिजा गौतम, कमल सुवेदी, कुशल खत्री, लक्ष्मण लामा, सीता रेग्मी योञ्जन, जस्मिन ओझा, गणेशप्रसाद चौलागाईं, दीपक चौधरी, विप्लवी न्यौपाने, इन्द्रजित साफी, विनु यादव, रञ्जना पौडेल, प्रदीप भट्टराई, प्रेमकुमार घिसिङ, मणिसुन्दर लिम्बू, विकासकुमार ठाकुर, नीरज सिंह, मनीष गोडवा, केदारमान लामा, शुक तामाङ, सर्जु सिग्देल, मदन कार्की, लक्ष्मी घलान र सम्झना कुँवर छन् ।
यस्तै, शंकुप्रसाद जैसी, सुशील बुढाथोकी, छेन्ताङहाङमा लिम्बु, राम नेपाली, अनिता यादव, केशव भट्टराई, नमराज शाही, व्रजित कर्ण, पहलसिंह केसी, रिता भट्टराई, देव श्रेष्ठ, लोमसाङ ब्लोन, नितेशकुमार केशरी, प्रशान्त प्याकुरेल, मन्दीपकुमार लाभ, युवराज थापा, माधवकुमार श्रेष्ठ, विक्रम राना र विमलेगु कुमार रहेका छन् । पत्रकार ऋषि धमला संरक्षक छन् ।
केन्द्रीय सदस्यसमेत रहेकी ओझाले समावेशी नेतृत्व हुने र जेन–जी महिलालाई प्राथमिकता दिइने बताइन् । घाइते र सहिद परिवारका सदस्यहरू रहेको यो पार्टीमा जेन–जीहरू नेतृत्वमा रहेको उनले बताइन् । ‘अभिभावक चाहिन्छ भनेर रमनकुमार कर्णलाई संयोजक दिएको भए पनि हामी जेन–जीहरू नै पार्टीको मस्यौदाकार हो । पदाधिकारीहरू जेन–जी नै हुन्छन्,’ उनले भनिन् । मस्यौदा समितिमा विप्लवी न्यौपाने, कमल सुवेदी र हिक्मत डंगोल सदस्य छन् । यी सबै जेन–जी हुन् ।
३० दल दर्ताको चरणमा
निर्वाचन आयोगका अनुसार मंगलबारसम्म ३० दल दर्ताको चरणमा छन् । यसमध्ये २१ नयाँ हुन् भने नौ पुराना हुन् । आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ । आयोगले वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण अभियाननामक दललाई खारेज गरेको छ ।-नयां पत्रिका दैनिक
