काठमाडौं, २७ कात्तिक – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’लाई आगामी मंसिर ७ गते प्रदर्शन गर्ने तयारी भए पनि प्रशासनले अनुमति नदिने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्ति सुरक्षाको कारण प्रदर्शन असम्भव रहेको जानकारी प्रसाईं समूहलाई दिएको हो।
प्रहरीको रिपोर्ट अनुसार प्रदर्शन अराजक बन्न सक्ने सम्भावना देखिँदै गृह मन्त्रालयमा सिफारिस गरिएको थियो। अनुमति नपाएमा प्रदर्शन रोक्न बल प्रयोग गरिने तयारी गरिएको छ।
प्रसाईं समूहले बुधबार गृहमन्त्री ओमप्रकाश अर्याललाई संविधान खारेज, राजसंस्था पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, ऋण मिनाहा र प्रदेश संरचना खारेजी लगायतका २७ बुँदे मागपत्र बुझाएका थिए। समूहले चरणबद्ध रूपमा देशभर प्रदर्शन गर्ने चेतावनी पनि दिएका थिए।
