• Saturday 17th of October 2026

चुनाव अगाडि नै सरकार छोड्ने तयारीमा कुलमान


  • धनकुटा खबर
  • .

तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नो समर्थनमा दर्ता गरिएको उज्यालो नेपाल पार्टीको प्रारम्भिक गतिविधिमा सक्रिय रूपमा सहभागी भएका छन्। निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएलगत्तै बुधबार बौद्धमा बसेको केन्द्रीय समिति बैठकमा उनी प्रत्यक्ष उपस्थित भएर आफ्नो धारणा राखेका थिए।

बिहीबार भने केन्द्रीय सदस्यहरू मात्र सहभागी हुनेगरी बैठक चलेको छ। कुलमानको चाहनाअनुसार दर्ता भएको दलमा उनी पदीय भूमिकामा छैनन्, तर पार्टी रणनीति र भावी योजनामा उनको भूमिकालाई निर्णायक रूपमा हेरिएको छ।

बैठकमा सहभागी नेताहरूका अनुसार कुलमानले छलफलको सुरुवाती भागमै चुनावअघि मन्त्री पद त्याग्ने योजना सार्वजनिक गरेका छन्। उनले भनेका छन्, “दुई जिम्मेवारी कहिले पनि लिन्दिनँ। पार्टीमा भए पार्टीमै, सरकारमा भए सरकारले।” उज्यालो नेपालका नेताहरूका अनुसार चुनाव भन्दा एक महिना अघि कुलमान सरकारबाट बाहिरिनेछन् र देशव्यापी चुनावी अभियानको नेतृत्व गर्नेछन्।

उज्यालो नेपालको पहिलो औपचारिक बैठकमा ४५ जना केन्द्रीय सदस्यहरू सहभागी थिए। बैठकमा संगठन विस्तार, डिजिटल प्रचार, राष्ट्रिय अभियान, वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने लगायतका विषयमा प्रारम्भिक खाका तयार भएको छ।

५१ सदस्यीय केन्द्रीय समिति दर्ता हुँदा कुलमान आफैंले भने पार्टी पदीय संरचनामा नबस्न निर्णय गरेका छन्, तर सहभागी सदस्यहरूलाई भने उनले संस्थापक सदस्यको मूल्यबारे सम्झाउँदै बधाई दिएका थिए।

अध्यक्षमा नियुक्त पूर्व सचिव अनुपकुमार उपाध्यायको राजावादी रुझानबारे उठेको प्रश्नमा भने कुलमान बैठकमा मौन बसेको नेताहरूले बताएका छन्।

उज्यालो नेपाल अब देशभर संगठन विस्तार, प्रशिक्षण र वैकल्पिक शक्ति एकता अभियान तीव्र बनाउने तयारीमा छ। बालेन शाह, विवेकशील पृष्ठभूमिका नेता, रास्वपा छाडेर आएका अनुहार र जनजाति आन्दोलनका अगुवाहरूसँग सहकार्य गर्ने रणनीति पनि पार्टीले अघि बढाएको छ।

कुलमानले चुनाव समयमै हुने विश्वास व्यक्त गर्दै आफूहरूको दल आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा उभिने दाबी बैठकमा राखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖