• Saturday 17th of October 2026

सरुवा भएको स्थानमा नपुग्दै पुनः सरुवा भए गुल्मी र जुम्लाका सीडीओ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयबाट कात्तिक ९ गते सरुवा गरेका दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा भएको स्थानमा हाजिर नै नभई पुनः सरुवा भएको छ । कात्तिक ९ गते मन्त्री अर्यालले ३६ सहसचिवको सरुवा गर्दा जुम्लामा सहसचिव खिमबहादुर रायमाझीलाई सीडीओको जिम्मेवारी दिएका थिए । रायमाझीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट जुम्लाको सीडीओमा सरुवा गरिएको थियो ।

त्यसैदिन अछामको सीडीओ रहेका सहसचिव आनन्द सारुलाई सरुवा गरेर गुल्मीमा सीडीओको जिम्मेवारी दिइएको थियो । तर, दुवै जना सरुवा भएको स्थानमा नपुगी कात्तिक २६ गते पुनः सरुवामा परेका छन् । मन्त्री अर्यालस्तरीय निर्णयबाट ४ सहसचिव र ५४ उपसचिवको सरुवा गर्दा सहसचिवद्वय रायमाझी र सारुको पुनः सरुवा गरिएको हो । सरुलाई गुल्मीबाट दैलेखको सीडीओमा सरुवा गरिएको छ भने रायमाझीलाई जुम्लाबाट गृह मन्त्रालयमा तानिएको छ ।

रायमाझी सरुवा भएको जुम्लामा हाजिर नै नभएको निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिए । ‘रायमाझी कात्तिक ९ गतेको मन्त्रालयको निर्णयबाट जुम्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भए पनि हाजिर हुन आउनुभएन,’ निमित्त सीडीओ रावलले रातोपाटीसँग भने, ‘कात्तिक २६ गते दीपक पौडेलको सीडीयोको रूपमा सरुवा भएको पत्र मन्त्रालयबाट कार्यालयमा आइपुगेको छ ।’

यता सारु पनि गुल्मीमा हाजिर नै नभएको विष्णुप्रसाद कोइरालाले जानकारी दिए । ‘उहाँ (सारु) हाजिर हुन नै आउनुभएन,’ कोइरालाले रातोपाटीसँग भने ।

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काम काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० को ७ नम्बरको कामकाज गर्ने अवधि शीर्षकको १ नम्बर बुँदामा ‘एउटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुन्छ,’ भन्ने लेखिएको छ ।

त्यही बुँदामा तर लेखेर, ‘यसअघि राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूको कामकाज गर्ने अवधि पूरा नहुँदै सरुवा वा कामकाजमा खटाउन बाधा पर्ने छैन’ भनेर लेखिएको छ ।

गृहमन्त्री अर्यालले १७ दिनमा सरुवा गरेका दुवै सीडीयो सहसचिव हुन् । उनीहरूको हकमा तर पछिको वाक्य आकर्षित हुँदैन ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले आवश्यकताका आधारमा सरुवा गरिएको जानकारी दिए । ‘उहाँहरूको सरुवा आवश्यकताका आधारमा भएको हो । कहिलेकाही आवश्यकताका आधारमा सरुवा गर्नपर्ने अवस्था आउँछ,’ प्रवक्ता काफ्लेले भने ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले उनीहरूले व्यक्तिगत समस्या देखाएकाले सरुवा गरिएको जानकारी दिएको छ । मन्त्रालयले सरुवा गरेको स्थानमा नगइ अर्को स्थानमा सरुवा मिलाएका सारु र रायमाझीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖