काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा पुर्पक्षका लागि थुनामा रहेका कृष्णबहादुर महराको नाम पनि रहेको छ ।
कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर बनेको नेकपाले सोही दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
कात्तिक २३ गते आयोग पुगेर नेताहरूले केन्द्रीय समिति, पार्टीको विधान र घोषणापत्र बुझाएका थिए । आयोगमा बुझाएको केन्द्रीय समितिको सूचीमा महराको नाम ७ नम्बरमा रहेको छ ।
माओवादीमा रहँदा उनी उपाध्यक्ष रहेका थिए । चिनियाँसँग मिलेर भेप तस्करी गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले असोज २६ गते पक्राउ गरेको थियो । महरा त्यसअघि सभामुखमा बहाल रहँदा संसद् सचिवालयका एक कर्मचारीसँग यौन काण्डमा थुनामा परेका थिए ।
