काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा नदिइकन परियारले पार्टी परित्याग गरेका छन् ।
परियारको अकस्मात बहिगर्मन रास्वपाको नेतृत्व पङितकै लागि ठूलो ‘सरप्राइज’ हो । उनी पछिल्ला दिनमा माओवादी नेता जनार्दन शर्मासँग हिमचिममा छन् भन्ने केही नेताहरुले सुईंको पाएको भए पनि अहिल्यै पार्टी छोड्दैछन् भन्ने कसैले नसोचेको स्रोत बताउँछ ।
रास्वपाभित्र एउटा सानो समूहले पार्टीभित्र पुनर्गठन र पुनसंरचनाको मुद्दा उठाइरहेको छ । तर, परियार यो समूहभित्र थिएनन् । उनले पार्टीको कुनै पनि नीति/निर्णयप्रति सार्वजनिक असन्तुष्टि व्यक्त गरेनन् । न त पार्टीको आन्तरिक वैठकमा नै संस्थापन पक्षभन्दा फरक मत राखे ।
हालै पोखरामा भएको रास्वपाको विस्तारित वैठकमा भने परियार असन्तुष्ट भावमा देखिए । उनी वैठकको पहिलो सत्रमा एकछिन बसेर निस्किएको र त्यसपछि नफर्किएको स्रोतले बतायो ।
‘उहाँले वैठकमा आफ्नो भनाइ राखेर निस्किन खोज्नुभएको थियो । तर, भन्नेवित्तिकै समय पाउनुभएन । त्यसपछि नबोलिकन हिँड्नुभयो र फेरि फर्किनुभएन,’ स्रोतले भन्यो ।
विस्तारित वैठकबाट फर्केर उनी जनार्दन शर्मासँग तारन्तार वैठकमा बसेको बताइएको छ । वैचारिकरुपमा उनी माओवादीसँग साह्रै निकट छन् । उनका अभिव्यक्तिहरुमा पनि ‘माओवादी धार’ प्रकट हुने गरेको थियो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, आरक्षण जस्ता एजेन्डाको परियार प्रखर वकालत गर्ने गर्छन् । अन्ततः उनी आफ्नै वैचारिक आस्थाकै क्याम्पमा पुगेका छन् ।
परियारले आफ्नो राजीनामापत्रमा कुनै पनि असन्तुष्टि पोखेका छैनन् । यसअघि रास्वपा त्यागेकी सुमना श्रेष्ठलाई ‘अवसरवादी’ को ट्याग लागेको र अहिलेसम्म पनि सामाजिक सञ्जालमा तीव्र निन्दा र आलोचना झेल्नुपरिररहेको देखेका परियारले त्यसबाट बच्नका लागि चुपचाप निस्किएको हुनसक्ने पार्टीका एक पदाधिकारीको अनुमान छ ।
राजीनामापत्रमा घुमाउरो ढंगले परियारले लेखेका छन्, ‘रास्वपाको सदस्य भइरहँदा मैले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको छु । निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा आफ्नै कमजारीका रुपमा लिएको छु ।’
तर, आफूले स्थापित गर्न नसकेको विचार के थियो भन्ने उनको राजीनामापत्रमा उल्लेख छैन ।
परियारले जेनजी आन्दोलनले यथास्थितिमा अब नेपालको राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको बताएका छन् । राजीनामापत्रमा रास्वपा नेतृत्वलक्ष्यित कुनै पनि टिप्पणी छैन । स्रोतका अनुसार यो उनको बठ्याइमात्र हो । उनको केही असन्तुष्टि अवश्य थिए । मुख्य असन्तुष्टि थियो, समानुपातिक चुनावमा कसैलाई पनि दोहोर्याउने पार्टी नीतिप्रति ।
परियार दलित कोटाबाट रास्वपाका समानुपातिक सांसद बनेका थिए । पार्टीको विधानमा नै एउटा चुनावमा समानुपातिक संसद बनेकालाई अर्कोपटकको चुनावमा समानुपातिक सूचीमा नराख्ने उल्लेख छ । रास्वपाले यो नीति सच्याउनुपर्ने पक्षमा परियार थिए । यसलाई परिमार्जन गरेर लगातार दुईपटकसम्म समानुपातिक सुचीमा राख्न सकिने व्यवस्था गर्नुपर्नेमा उनले भित्रीरुपमा लविङ गर्दै आएको स्रोत बताउँछ । तर, विस्तारित वैठकले पनि यही नीतिलाई निरन्तरता दिएपछि उनी निराश बनेको स्रोतको दावी छ ।
‘समानुपातिकमा नदोहोरिने निश्चित भएको र प्रत्यक्षमा जित्छु भन्ने आत्मविश्वास नभएकाले गर्दा उहाँले यो निर्णय लिनुभएको हुनुपर्छ,’ संस्थापन पक्षका एक केन्द्रीय सदस्यले अनुमान लगाए ।
रवि लामिछानेले खेपिरहेको मुद्दामा परियार अरु नेताहरुजस्तो आक्रामक भएर प्रतिरक्षामा बोलेनन् । उनी रविलाई भेट्न एकपटक पनि कारागार नपुगेको स्रोत बताउँछ । जेनजी आन्दोलनका क्रममा रवि बाहिर निस्किएकोप्रति उनी असन्तुष्ट भए पनि व्यक्त गर्न भने सकेनन् ।
‘सभापतिलाई काठमाडौं ल्याइएपछि पनि उहाँ भेट्न जानुभएको छैन,’ रविनिकट स्रोतले भन्यो, ‘पार्टी छोड्दैछु भनेर जानकारी समेत दिनुभएन । सभापतिले सँधै पार्टीमा उहाँलाई ‘फेभर’ गरिरहनु भएको थियो । प्रमुख सचेतक जस्तो महत्वपूर्ण जिम्मेवारीमा राख्नुभएको थियो।’
नागरिक आन्दोलनबाट उदाएका नेता हुन् परियार । भक्तपुरको गुण्डुमा जन्मेका उनी वैचारिक हिसाबले वाम कित्तामा थिए । उनको राजनीतिक यात्राको सुरुवात भने एमालेबाट भएको थियो । एमाले र माओवादी मिलेर नेकपा बन्दासम्म पनि उनी त्यसैमा थिए । नेकपा विभाजित भएर फेरि एमाले र माओवादी बनेपछि भने उनी एमालेमा फर्किएनन् । केपी ओलीले गरेको संसद विघटनविरुद्ध नागरिक आन्दोलनमा लागे । नारायण वाग्लेको पछिपछि हिँड्न थाले । त्यही क्रममा उनले नागरिक अभियन्ताको पहिचान बनाए ।
२०७९ सालको आम निर्वाचनमा रास्वपालाई समानुपातिकमा दलित उम्मेदवार चाहिने भएपछि उनलाई प्रस्ताव गर्यो । त्यसपछि उनी रास्वपामा प्रवेश गरेका हुन् । सांसद पद गुमेसँगै पार्टी त्यागेका छन् । अब बन्ने नयाँ पार्टीमा समानुपातिकको सूचीमा पहिलो नम्बरमै पर्ने उनको आशा र सम्भावना छ ।
रास्वपाभित्र परियार अध्ययनशील र समन्वयकारी नेताका रुपमा परिचित बनिरहेका थिए । उनको राजनीतिक चेत राम्रो थियो । तर, कतिपय मुद्दाहरुमा राजनीतिकभन्दा जातीय रुझान बढी देखाउने गर्थे ।
