राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक रहिसकेका सन्तोष परियारले पार्टी नेतृत्वलाई जानकारी नै नदिई पार्टी त्याग गरेका छन्। सभापति रवि लामिछानेका नजिकका नेता मानिने उनकाे अचानक बहिर्गमन रास्वपाभित्र ‘पूर्ण सरप्राइज’ का रूपमा हेरिएको छ।
परियार पछिल्ला हप्ताहरूमा माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वको वैचारिक समूहसँग नजिकिएको संकेत देखिँदै आएको थियो। तर यतिखेरै पार्टी छोड्ने निर्णय गर्छन् भन्ने कसैले अनुमान गरेको थिएन। स्रोतका अनुसार पोखरामा भएको विस्तारित बैठकमा बोल्ने अवसर नपाएपछि उनी असन्तुष्ट देखिएका थिए। बैठकको पहिलो सत्रमै निस्किएर पुनः नफर्किएको पनि बताइएको छ।
विस्तारित बैठकपछि परियार जनार्दन शर्मासँग लगातार भेटमा बसेको र वैचारिक रूपमा आफू ‘वामधार’ मा नजिक भएको अनुभूति परियारले आफ्नै नजिकका साथीहरूसँग खुलाएका थिए। गणतन्त्र, धार्मिक निरपेक्षता, संघीयता र आरक्षणका एजेन्डामा उनी खुला रूपमा माओवादी धारमा उभिँदै आएका थिए।
परियारको राजीनामा पत्रमा खुलेर असन्तुष्टि उल्लेख छैन। तर पार्टीले समानुपातिक उम्मेदवारीमा ‘दोहोरिन नपाउने’ नीति निरन्तरता दिएकोप्रति उनी गम्भीर रूपमा असन्तुष्ट भएको स्रोत बताउँछ। दलित कोटाबाट समानुपातिक सांसद बनेका परियारले यो नीतिमा परिमार्जन आवश्यक छ भन्दै भित्रीरूपमा निरन्तर लबिङ गरेका थिए।
रास्वपामा यसअघि पूर्वमन्त्री सुमना श्रेष्ठ पनि बाहिरिइसकेकी छन्। तोसिमका कार्कीलगायत केही नेताहरू पनि पछि हट्न सक्ने चर्चा छ। यसबीच परियारले सभापति रवि लामिछाने जेलमा परेका बेला एकपटक पनि भेट्न नजानु, जेन–जी आन्दोलनबारे चुप लाग्नु र अन्ततः राजीनामा जानकारीसमेत नदिनु पार्टी भित्र निकै चासोको विषय बनेको छ।
नागरिक आन्दोलनबाट पहिचान बनाएका परियार सुरुमा एमाले–माओवादी मिलेको नेकपामार्फत सक्रिय राजनीतिमा थिए। २०७९ को आम निर्वाचनअघि रास्वपामा प्रवेश गरेका उनी सांसद पद गुमेसँगै पार्टी पनि छाडेर अब नयाँ दलतर्फ मोडिने निश्चित देखिएको छ।
