नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३–२४ मा भएको तोडफोड र आगजनीमा विशिष्ट व्यक्तिहरूको संलग्नताबारे गम्भीर संकेत गरेका छन्।
नेपालगञ्जमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले राजधानीका संवेदनशील संरचनामाथि भएको क्षति र केही स्थानमा भएको ‘असामान्य सुरक्षितता’ बीच तुलना गर्दै शंका व्यक्त गरे।
पोखरेलले भने, “देशभर स्थानीय तह, वडा कार्यालयहरू जलाइए। तर काठमाडौं महानगरमा केही गरिएन। शितलनिवास जलाइयो, तर छेउमैको निर्मल निवासमा एउटा ढुंगा पनि लागेन। यसले कसको संलग्नता थियो भन्ने बुझ्न धेरै कठिन छैन।”
उनको यो बयानले काठमाडौँ महानगरका प्रमुख बालेन शाह र पूर्वराजा ज्ञानेन्द्र दुवैतरफ संकेत गरेको टिप्पणी राजनीतिक वृत्तमा फैलिएको छ। पोखरेलले नाम नलिए पनि घटनाको भौगोलिक तुलना र समयक्रमले प्रश्न झन् गहिरिएको छ।
एमाले महासचिवले भदौ २३–२४ का घटना “राज्य कमजोर पार्ने सुनियोजित षड्यन्त्र” भएको दाबी गरे। “सिंहदरबार, सर्वोच्च अदालत जस्ता संवैधानिक निकायमाथि आगो लगाउने काम सामान्य विरोध होइन, राज्यविरुद्ध गम्भीर अपराध हो,” उनले भने।
उनका अनुसार एमाले संकटबाट नभाग्ने, संकटसँगै जुधेर उठ्ने पार्टी हो। “हामी लोकतन्त्रका लागि जेल बसेका, भूमिगत बसेका कार्यकर्ता हौँ। कार्यालय जलाएर, घर जलाएर एमाले टुंगिन्छ भन्ने भ्रम षड्यन्त्रकारीहरूको थियो। तर अहिले मैदान हेर्नुभयो भने—एमालेभन्दा ठूलो शक्ति छ र?” पोखरेलले प्रश्न तेस्र्याए।
जनसभामा उनले कार्यकर्ता र समर्थकलाई ‘उच्च मनोबलका साथ मैदानमा खटिन’ आह्वान गरे। उनका वक्तव्यका कारण राजधानीदेखि मधेससम्म राजनीतिक विश्लेषण र बहस झन् तीव्र बनेको छ।
