• Saturday 17th of October 2026

आत्मसम्मानमा प्रहार भयो भने एक-एक गरेर निस्किन्छन् :तोसिमा


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोशिमा कार्कीले पार्टीभित्रको वर्तमान वातावरणले अब्बल, सक्षम र सम्भावनायुक्त व्यक्तिहरू एक–एक गर्दै बाहिरिन बाध्य भइरहेको चेतावनी दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत कठोर टिप्पणी गर्दै पार्टीभित्र तत्काल सुधार र संरचनागत परिवर्तनको आवश्यकता रहेको स्पष्ट संकेत गरिन्।

तोशिमाले लेखेकी छन्, “आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू एकपछि अर्को निस्किन्छन् नै। बेलैमा नसुध्रिए अझ धेरै राम्रो मान्छेहरू गुमाउने छ।”

उनको अभिव्यक्तिमा संस्थापन पक्षप्रति असन्तुष्टि स्पष्ट सुनियो। फरक विचार राख्नेहरूलाई दबाब, मिडिया ट्रायल र ‘अनावश्यक भय’ले थिचिएको आरोप उनी लगाउँछिन्। “फरक मत राख्दा पटक–पटक मिडिया ट्रायलको सिकार हुनुपर्‍यो,” उनी लेख्छिन्।

तोशिमाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ पनि कटाक्ष गरिन्। “घमन्ड र दबाबले पार्टी चलाउनु थियो भने ओली नै थिए नि,” भन्दै उनले सुधार र परिवर्तनको मागलाई प्रतिगमन भन्दै दबाउने संस्कृतिले देश झनै बिग्रने टिप्पणी गरिन्।

उनका अनुसार पार्टीको मार्गचित्र नै प्रस्तुत हुन नदिइएको र संस्थापन पक्ष अत्यधिक दबाबमा थिचिएको कारण सुधारको प्रक्रिया रोकिएको छ।

हालै रास्वपाभित्र देखिएको बहिर्गमन, असन्तुष्टि र आन्तरिक खटपटका बीच तोशिमाको यो कडा चेतावनीले पार्टीभित्रको विभाजन र असन्तुष्टि अझै सतहमा आएको संकेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖