• Saturday 17th of October 2026

प्रचण्डको नाटकीय एकतामा नजाने भन्दै माओवादीको सिङ्गो नगर कमिटी नै शर्माको अभियानमा


  • धनकुटा खबर
  • .

सुर्खेत । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले प्रचण्डको ‘नाटकीय एकता प्रक्रिया’ मा नजाने घोषणा गर्दै जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा जोडिने निर्णय गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी नगर कमिटीका अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानमा जोडिएर विकृति, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने बताएका छन् ।

उक्त नगर कमिटीले पार्टीभित्र रहेका विभिन्न काण्डहरूको छानबिन, नेताहरूको सम्पत्ति शुद्धीकरण, आन्तरिक पार्टी रूपान्तरण, सुशासन प्रवर्द्धन, युवा सहभागिता र नियमित महाधिवेशनजस्ता अत्यावश्यक वर्तमान मनोविज्ञानमा आधारित विषयहरूलाई प्रचण्डले बेवास्ता गरी ‘डम्पिङ साइट’ मा थन्क्याएको आरोप लगाएको छ ।

खड्काले भनेका छन्, ‘कतिपय पार्टी र नेताहरूसँग वृहत् वाम एकताको नाममा रचिएको नाटकलाई हामी स्वीकार गर्न तयार छैनौँ ।’

उनले प्रचण्डले भ्रष्टाचारमा छानबिन भइरहेका र विगतमा देशलाई असफल राष्ट्र बनाउन योगदान गरेका ‘थोत्रा बसका ड्राइभरहरू’ सँग एकता गरेको पनि बताएका छन् । खड्काका भनाइछ, ‘प्रचण्ड आफैँ पनि माओवादी विचार र दृष्टिकोणलाई पूर्णरूपले विसर्जन गरी नाम मात्रको कम्युनिस्ट पार्टी निर्माणको नाटक नेपाली जनताका लागि एक दुखद क्षण प्रमाणित भएर जानेछ ।’

नगर कमिटीले प्रचण्डले आफू बसेको झुपडी नै आगो लगाएर अर्को बहुखण्डी घरमा सरेको आरोपसमेत लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गरिसकेपछि महान् जनयुद्ध र जनआन्दोलनलाई आत्मसात् गरेर नयाँ विचार, नयाँ कार्यभारसहित युवाहरूको अपनत्व हुने गरी हामी नयाँ पार्टी निर्माण हुनुपर्छ भन्ने दृष्टिकोणमा छौं ।’

अध्यक्ष खड्काले सिङ्गो नगर कमिटी प्रचण्डको नाटकीय एकता प्रक्रियामा नजाने र माओवादीका सङ्गठित नेता तथा कार्यकर्ताहरूलाई समेत एकताको नाटकमा सहभागी नहुन अपिल गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖