काठमाडै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको लिखित माग बेवास्ता गर्न नसकिने भन्दै स्पष्ट चेतावनी दिएका छन्। सिंगापुरबाट फर्केका देउवालाई आइतबार भेट्न पुगेका शर्मा करिब डेढ घण्टा छलफलमा बसेका थिए, जहाँ उनले विधानसम्मत मागलाई उपेक्षा गरिए आफू महामन्त्री पदबाट राजीनामा दिने बताए।
महाधिवेशन प्रतिनिधिहरूले धारा १७ को आधारमा ५४ प्रतिशत हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग पेश गरिसकेको स्थिति छ। तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक दायित्व भएर पनि पार्टी नेतृत्व ढिलो गर्न खोजेको आरोप नेताहरूले गर्दै आएका छन्। असोज २९ मा पेश गरिएको मागअनुसार पुस २८ मा समयसीमा सकिँदै छ।
शर्माले देउवालाई भेटेर उनले राखेको धारणा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि जानकारी गराइसकेका छन्। उनका अनुसार विधानभन्दा बाहिर गएर निर्णय गर्नु कांग्रेसको चरित्रविपरीत हुने र त्यस्तो निर्णय लागू भएको मितिबाट आफ्नो राजीनामा प्रभावकारी हुने स्पष्ट अडान उनले सभापतिसामु राखेका छन्।
पार्टीभित्र महाधिवेशनको विषयले ठूलै मतभेद पैदा गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन सम्भव नदेखिएको भन्दै विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखिरहेका छन्। थापाले त १५ औं महाधिवेशनको कार्यतालिका समेत केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिसकेका छन्।
उता संस्थापन पक्ष भने चुनावपछि महाधिवेशन गर्नुपर्ने तर्कसहित विशेष महाधिवेशनको दबाब रोक्न खोजिरहेको छ। संस्थापनइतर नेताहरू, विशेषतः डा. शेखर कोइराला, चुनावअघि नै नियमित महाधिवेशन हुनुपर्नेमा अडानमा छन्।
सिंगापुर उपचारपछि फर्केका सभापति देउवा पार्टीभित्र चर्किएको विवाद मिलाउन नेताहरूसँग निरन्तर छलफलमा छन्। शनिबार आफ्ना निकट चार नेतालाई बोलाएर परामर्श लिएका देउवाले आज महामन्त्री विश्वप्रकाशको कडा चेतावनी पनि सुनेका छन्।
