देशलाई १८ घन्टे लोडसेडिङबाट मुक्त गराएपछि आमजनतामाझ लोकप्रिय भएका कुलमान घिसिङले राजनीतिक दल खोल्नु नौलो कुरा होइन। उनको राजनीतिक आकांक्षा देखिएको धेरै अघिदेखि हो।
अघिल्लो आमनिर्वाचनमै उनी माओवादी केन्द्रबाट चुनाव लड्ने चर्चा थियो। माओवादी केन्द्रले आफ्नो चुनावी प्रचारको पोस्टरमा समेत कुलमानको फोटो राखेको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुकबाट सार्वजनिक उक्त पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमानका तस्बिर थिए।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो नि:शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको थियो। पोस्टरमा ‘अँध्यारोबाट उज्यालो तर्फको यात्रा’ पनि लेखिएको थियो।
तर तत्कालीन समय विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका कुलमानलाई चुनावी प्रचारमा ‘पोस्टर ब्वाई’ बनाइएको भन्दै आलोचना भएपछि उनको तस्बिर हटाइयो।
त्यति बेला कुलमानले चुनाव लड्ने भनी चर्चा भएको निर्वाचन क्षेत्र काठमाडौं–३ थियो।
यति मात्र होइन, विद्युत प्राधिकरणबाट बाहिरिएपछि पनि विभिन्न राजनीतिक पार्टीमा प्रवेशबारे कुलमानको छलफल भएको र त्यस क्रममा काठमाडौं–३ को टिकट आफ्ना लागि सुनिश्चित हुनुपर्ने माग गरेको उनी निकट स्रोत बताउँछ। यसबाट कुलमानले आफ्ना लागि काठमाडौंको उक्त क्षेत्र उपयुक्त हुन्छ भन्ने धेरैअघिदेखि विचार गरेको देखिन्छ।
