• Saturday 17th of October 2026

महेश बस्नेतको आरोप, ‘ओलीले बनाएको क्रिकेट मैदानमा कुलमानले जुँगा मुसार्दै उद्घाटन गरे’


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १। नेकपा एमालेका नेता महेश बस्नेतले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको उद्घाटनलाई लिएर शहरी विकासमन्त्री कुलमान घिसिङमाथि व्यंग्यपूर्ण टिप्पणी गरेका छन्। उनका अनुसार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सुरु गराएको मैदानलाई घिसिङले सामाजिक सञ्जालमा आफूलाई देखाउन मात्र प्रयोग गरेको आरोप छ।

राष्ट्रिय युवा संघ नेपालले आयोजन गरेको कार्यक्रममा बोल्दै बस्नेतले ओली प्रधानमन्त्री बनेको पहिलो निर्णय क्रिकेट रंगशाला निर्माणकै लागि भएको दाबी गरे। उनका अनुसार स्टेडियम तोकिएको समयभन्दा केही ढिला तयार भए पनि यसको मूल श्रेय ओलीकै नेतृत्वमा भएको योजनालाई जान्छ।

बस्नेतले भने,
‘केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो, यसले उहाँलाई सामाजिक सञ्जालमा हिरो देखाउन मात्र मद्दत गर्यो’।

शहरी विकासमन्त्री घिसिङले आइतबार बेलुकी स्तरोन्नत गरिएको त्रिवि मैदान उद्घाटन गरी नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए।

बस्नेतले सोमबारबाट सुरु भएको एनपीएललाई नेपालको क्रिकेट इतिहासमा महत्वपूर्ण मोडका रूपमा उल्लेख गरे। उनले केही वर्षअघिसम्म किर्तिपुरको रुखको हाँगामा बसेर खेल हेर्नुपर्थ्यो, अहिले भव्य मैदानको सुविधा उपलब्ध भएको बताए।

यस्तै, उनले धरहरा, रानीपोखरी, सुरुङमार्ग जस्ता प्रमुख विकास योजनाहरू पनि ओलीको कार्यकालकै उपलब्धि भएको दाबी दोहोर्याए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖