नख्खु कारागारमा भएको एक अनौपचारिक भेटले नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ। निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह, रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेबीच भएको त्रिपक्षीय छलफलले आगामी निर्वाचनका लागि नयाँ मिलनबिन्दु खुला भएको देखिएको छ।
अमरेशले कारागारमै गएर लामिछानेसँग भेटेपछि सञ्चारकर्मीलाई भने, देशको राजनीतिक अनिश्चितता, जेनजी आन्दोलन र जनतामा बढ्दो निराशाबारे खुलेर चर्चा भएको बताए। भेटपछि उनले रविमाथिको मुद्दा प्रतिशोधको परिणाम भएको दाबी गर्दै अदालतबाट चाँडो न्याय मिलने विश्वास पनि व्यक्त गरे।
छलफलको मुख्य केन्द्रबिन्दु भने आगामी निर्वाचन थियो। अमरेशले रास्वपासँग सहकार्यको ढोका खुला रहेको संकेत मात्र दिएनन्, आवश्यकता परे रास्वपाबाटै चुनाव लड्न सक्ने सम्भावना पनि खुलेर बताए।
तीन जनाको भेटपछि एक कुरा स्पष्ट देखियो—असन्तुष्ट मतदाताको ठूलो आधार समात्न स्वतन्त्र र सुधारवादी धारबीच गठबन्धनको सम्भावना तीव्र बन्दैछ।
