• Saturday 17th of October 2026

दुर्गा प्रसाईका आसेपासे पनि प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । मध्यरातमा मेडिकल व्यवसायी दुर्गा प्रसाई गिरफ्तार परेपछि उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका आठ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार ठूलो भीड, नाराजुलुस र असुरक्षा बढ्नसक्ने अवस्थाका कारण उनीहरूलाई स्क्रिनिङका लागि नियन्त्रणमा राखिएको हो।

प्रहरीले नियन्त्रणमा परेकामध्ये केहीले सामाजिक सञ्जालमा प्रहरी कार्यालय तोडफोड गरेर भए पनि प्रसाईलाई निकाल्नुपर्छ भन्ने जस्ता उत्तेजक र भ्रमपूर्ण सूचना फैलाइरहेको जनाएको छ। आपराधिक रेकर्ड हेर्न र अराजक समूहको गतिविधि निगरानी गर्न उनीहरूलाई समातिएको प्रवक्ताले स्पष्ट पारे।

प्रसाई पक्राउ लगत्तै उनका समर्थकहरू प्रहरी परिसर पुगेका थिए। केही समूहले सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाउँदै विरोध बढाउन खोजेको प्रहरीले बताएको छ।

प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले म्याद दिएको छ। म्याद थप प्रकृयाका क्रममा प्रसाईले आफू कुन मुद्दामा पक्राउ परेका हुन् भन्ने जानकारी नै नदिइएको आरोपसमेत लगाएका छन्।

किन पक्राउ परे दुर्गा प्रसाई
पछिल्लो समय प्रसाईले देशव्यापी हडताल, संविधान संशोधन र हिन्दु राष्ट्र पुनस्थापना लगायतका माग राखेर लगातार उग्र अभिव्यक्ति दिँदै आएका थिए। सरकारका अनुसार यी अभिव्यक्तिले शान्ति सुरक्षा खलल हुनसक्ने संकेत देखिएको थियो।

केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति भंग गर्न सक्छ भन्ने गतिविधि र समूहमाथि कडा निगरानी गर्ने निर्णय गरेपछि प्रसाई पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रमुख रमेश थापाले प्रसाईका हालका गतिविधिले देशभरको शान्ति व्यवस्थामा असर पर्नसक्ने आशंका रहेको बताए।

प्रशासनका अनुसार प्रसाईले प्रहरी संगठन, सरकारी निकाय र शान्ति सुरक्षाको संरचनामाथि लगातार ठाडा टिप्पणी गर्दै आएको र सार्वजनिक मञ्च तथा सामाजिक सञ्जालमार्फत भड्काउने अभिव्यक्ति दिंदै आएका कारण उनलाई नियन्त्रणमा लिनु परेको हो।

गृह मन्त्रालयले स्पष्ट पारेको छ कि शान्तिपूर्ण प्रदर्शन रोकिएन, तर शान्ति बिथोल्ने गतिविधि देखिएमा तत्कालै कारबाही गरिनेछ। मंसिर दोस्रो साताबाट नयाँ आन्दोलन घोषणा गरिरहेका प्रसाईले सोमबार राति सामाजिक सञ्जालमा सरकारबारे आक्रमक आरोपसहित भिडियो सार्वजनिक गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖